
पर्वत । जिल्लाको पैयुँ गाउँपालिका वडा नम्बर ५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।
पैंयुँ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । ‘खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ,’ उनले भने ।
भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उनले बताए ।
बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।
यसैबीच, बाढीका कारण पैयुँ वडा नम्बर ५ को पियाखेतका दर्जनौं परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौं रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका वडा नम्बर ६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।














