काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको सदस्य सङ्ख्या १० प्रतिशत बढाउने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको हो ।

एकीकृत समाजवादीले यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेपनि नेताहरूको व्यवस्थापन गर्न सकस भएपछि केन्द्रीय सदस्यको सङ्ख्या १० प्रतिशत बढाउन लागेको जगनाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार १० प्रतिशत बढाउँदा ३२९ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेको एकीकृत समाजवादीले बाँकी २०६ जना केन्द्रीय सदस्य महाधिवेशन सकिएको १० दिनभित्र चयन गरिसक्ने जनाएको थियो । तर महाधिवेशन सकिएको २० दिन बित्दा पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।
नयाँ मानिस ल्याउनुपर्ने, ३३ प्रतिशत महिला अनिवार्य र ४५ वर्षमुनिका ६० जना युवा केन्द्रीय कमिटी सदस्यमा ल्याउनै पर्ने व्यवस्थाका कारण पनि यस्तो बाध्यता आइलागेको खतिवडाले जानकारी दिए ।














