काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका छन् ।

संसद्को आकस्मिक समयमा बोल्दै ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका डीआईजी मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ती जनाएका हुन् ।
सांसद ढकालले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई डीआईजी केसीको सरुवाको विषयमा संसद्मा बोल्न चुनौतीसमेत दिए । यसअघिको सरकारले प्रहरीको सरुवा गर्दा संसद्मा शर्माले प्रश्न गरेको भन्दै यसपटक पनि केसीको सरुवाबारे प्रश्न गर्न भनेका हुन् ।
“एक अब्बल राष्ट्रसेवक कर्मचारी डीआईजी मनोज केसीलाई कसरी सरुवा गरियो, विश्वासको मत लिएको दुई दिनभित्रमा । के उद्देश्यका लागि ?”, सांसद ढकालले भने, “हामीले सरकार गठन गर्दा जुन उद्देश्यले सरकार गठन गरेको थियो भनेका थियौँ, त्यसै उद्देश्यका लागि सरुवा गरिएको छ ।”
“कांग्रेसका महामन्त्रीज्यूले असार १० गते एउटा पोस्ट गर्नुभएको थियो– इन्स्पेक्टर सरुवाको विषयमा गलत भाष्य साबित गर्नका लागि”, उनले अघि भने, “म आग्रह गर्न चाहन्छु कांग्रेसका एक महामन्त्रीज्यूलाई डीआईजी मनोज केसीको सरुवाको विषयमा तपाईं बोल्न सक्नुहुन्छ कि हुँदैन यो सदनमा ?”
ढकालले नयाँ गठबन्धन र नयाँ सरकार बन्दै गर्दा आफूहरूलाई यो बन्नुका उद्देश्यहरू थाहा भएको बताउँदै अहिले त्यसका शृङ्खलाहरू देखिन थालेको टिप्पणी गरे ।














