काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् ।

अस्थिर सरकारका कारण देशमा सङ्कट आएकाले काङ्ग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताए । हरेक ६/६ महिनामा भइरहने सरकार गठन र विघटनले देशलाई धराशायी बनाएको उनको भनाई थियो ।
कोइरालाले भने, ‘केवल सत्ता टिकाउन सँधै साना/साना २/४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसद्मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’
काङ्ग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिँकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले काङ्ग्रेसले अब सुशासनको नारालाई जनताको घर-घर सम्म लैजाने बताए । ‘काङ्ग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ’, कोइरालाले भने ।
भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले निरंकुशता विरोधि हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरुले नेपाललाई ठूलो गुन लगाएको बताए ।
‘भारतमा रहनुभएका काङ्ग्रेस पार्टीका मात्रै होइन सम्पूर्ण नेपालीहरूले पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु’, कोइरालाले भने ।














