काठमाडौं । नेपाली पौडीवाज डुवाना लामा र सुटर सुस्मिता नेपाल पेरिस ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन् ।
आइतबार फ्रान्समा भएको खेलमा दुवै खेलाडी पहिलो चरणमै पराजित भएका हुन् । २०० मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी पार गर्न दुई मिनेट २०.४७ सेकेन्ड लगाए ।

सात खेलाडी सहभागी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहे । नेपाली सुटर सुस्मिता नेपाल पनि ओलम्पिकको प्रारम्भिक चरणबाटै बाहिरिए । १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका सुस्मिताले ६०७.८ अंक जोडे ।
४३ खेलाडीमध्ये सुस्मिता ४२औँ स्थानमा रहे । छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्।
यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा पहिलो चरणबाटै समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिएका थिए ।














