Logo
Logo

गण्डकीमा सार्वजनिक यातायात ठप्प, व्यवसायीले कुटे पत्रकार


315
Shares

पोखरा । विभन्न माग राख्दै गण्डकीका यातायात व्यवसायीले आइतबारदेखि सार्वजनिक सवारी सेवा ठप्प पारेका छन् ।

रातो नम्बर प्लेटलाई राइड सेयरिङको मान्यता दिने गरी सरकारले ल्याउन लागेको कार्यविधि खारेज गर्नुपर्ने उनीहरूको माग छ, जुन गण्डकीकै यातायात व्यवस्था ऐन, २०७६, नियमावली, २०८० विपरीत हो ।

सरकारले राइडिङ सेयरलाई पनि दर्ता गरेर सार्वजनिक सवारीको मान्यता दिने नीति ल्याएको छ । अन्य सवारी झैँ राइड सेयरिङमा दर्ता सवारीले पनि वर्षमा निश्चित रकम कर तिर्नुपर्छ ।

तर, यहाँका यातायात व्यवसायीहरू यसको विरुद्धमा छन् । उनीहरूले कार्यविधि खारेज गर्नुपर्ने मागसहित गत साउनन १० गते विज्ञप्ति बुझाएर ४८ घण्टाको अल्टिमेटम दिएका थिए ।

यातायात व्यवसायीले २ र ४ पांग्रे निजी प्लेटका सवारी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागु गर्नुपर्ने माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा राखेका थिए ।

गण्डकी सरकार भने यातायात व्यवसायीको मागको पक्षमा छैन । सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै उनीहरूले आइतबारदेखि सवारी साधन घर, ग्यारेजमा थन्क्याएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेलले आइतबार र सोमबार पहिलो चरणमा आन्दोलन गर्ने बताए । दुई दिनसम्म सवारी थन्क्याएर आन्दोलन गर्ने, माग पूरा नभएमा आन्दोलनको प्रकृति पनि फेरिने उनले बताए ।

अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे स्वास्थ्य उपचारका लागि भारत छन् । आन्दोलनरत यातायात व्यवसायीले कार्यबाहक मुख्यमन्त्री तथा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापासँग शनिबार छलफल गरेका थिए । छलफलमा मन्त्री थापाले यातायात व्यवसायीलाई आन्दोलन फिर्ता लिन अनुरोध गरेका थिए ।

आइतबार नै यातायात व्यवसायीले राइड सेयरिङलाई कानुनी मान्यता नदिन माग गर्दै गरेको आन्दोलनलाई काउन्टर दिन राइड सेयरिङ प्रयोगकर्ता पनि सडकमा उत्रिएका थिए ।

आइतबार नै पोखरामा आन्दोलनरत यातायात व्यवसायीले पत्रकारमाथि हातपात पनि गरेका छन् ।

पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण भएको हो । बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् । उनीहरूलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्