काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरका मेयर बालेन साहबिच बारम्बार जुहारी चल्दै आएको छ । बालेनविरुद्ध ओली मात्रै नभई एमाले सिङ्गो पार्टी नै लाग्ने गरेको छ ।
एउटा स्थानीय तहको प्रमुखसँग देशको कार्यकारी प्रमुखले सम्पूर्ण शक्ति लगाएर जोरी खोजिरहनु आफैमा हास्यास्पद कुरा हो । तर, ओलीले त्यही कुरा बारम्बार दोहाेर्याइरहेका छन् । ओलीले मेयर बालेनको निर्णय कार्यान्वयन नगर्न समेत निर्देशन दिएका छन् ।

सिंहदरबारमा मंगलबार संघीय सरकारका मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिने क्रममा ओलीले धरहरामा भइरहेको पार्किङ हटाउन निर्देशन दिएका हुन् । काठमाडौँ महानगरले तत्कालको ट्राफिक व्यवस्थापन र पार्किङ व्यवस्थापन भन्दै धरहरामा पार्किङ गर्ने व्यवस्था मिलाएको छ । तर, ओलीले धरहराको पार्किङ कुनै पालिका विशेषको हुन नसक्ने बताएका छन् । उनले धरहरा ‘कुनै पालिकाको होइन’ भनेर सिधा बालेनप्रति निशाना साँधेका हुन् ।
काठमाडौँ महानगरपालिकाले गत माघ १४ गतेदेखि धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाउँदै आएको छ । महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेर धरहरामा पार्किङको व्यवस्था मिलाएको हो ।
साथै महानगरले काठमाडौँ टावर (साबिक पुरानो बसपार्क)मा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । ओलीले भने धरहरालाई आफ्नो ‘प्रतिष्ठा’सँग जोड्ने गरेका छन् । पहिलोपटक प्रधानमन्त्री बनेका बेला उनले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान सुरु गरेका थिए । धरहरा नयाँ स्वरूपमा बनेपछि मेयर बालेनले ‘सेतो टावर’ भन्ने गरेका छन् । जस कारण एमाले वृत्त बालेनप्रति धरहराको विषयमा सकारात्मक छैनन् ।
आफ्नो प्रतिष्ठाको विषय जोडिएको नयाँ धरहरालाई ‘सेतो टावर’ भन्ने बालेन नेतृत्वको महानगरलाई त्यसको जिम्मेवारी दिनमा ओली सशंकित देखिएका छन् । धरहरा पार्किङ खुलाउँदा नै बालेन र सरकार आमनेसामने भएको थियो । त्यसबेला बालेनले सामाजिक संजालमा ‘सेतो टावर’ नै लेखेर पार्किङ गर्न नदिएकोमा विरोध जनाएका थिए । त्यसैबेला पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिले बालेनको अभिव्यक्तिमा असहमति जनाएका थिए ।
ओली र बालेनबीच अन्य विषयमा पनि टसल हुँदै आएको छ । काठमाडौँ महानगरले फुटपाथ बनाउन खनेको ठाउँलाई टाल्दै गरेका सडक डिभिजन काठमाडौँका कर्मचारी र सो गर्नबाट रोक्न तल्लीन नगर प्रहरीबिच न्युरोडमा घम्साघम्सी नै चल्यो ।
महानगरपालिकाले गत जेठ १४ गतेदेखि वडा नम्बर २४ र २२ मा फुटपाथ बिस्तारको कार्य सुरु गरेको थियो । तर, त्यसविरुद्ध उच्च अदालत पाटनमा मुद्दा प¥यो । अदालतको आदेश आएसँगै महाननगरपालिकाले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गरेको विषयमा स्थानीय तथा व्यवसायीले चार दिनसम्म विरोध गरेका थिए । जसको नेतृत्व एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनले गरेका थिए ।
गत असार १७ गते सत्ता समीकरणमा उलटफेर भएपछि बालेनले ‘काले काले मिलेर खाऊ’ भन्दै नेपाली कांग्रेस र एमालेप्रति व्यङ्ग गरेका थिए । त्यस्तै उनले ‘यो समय गिरिबन्धु चियाको हो’ भन्दै एमाले अध्यक्ष ओलीप्रति कटाक्ष पनि गरेका थिए । बालेनले गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका छन् ।
केही समयअघि बालेनले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ओलीलाई गिरिबन्धु टी– स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए । बालेनको उक्त आरोपबारे पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले आरोपबारे बालेनलाई नै सोध्नु भनेका थिए ।
अहिले एमालेको सिङ्गो सङ्गठन नै बालेनविरुद्ध लागेको छ । बालेन अराजकतातर्फ उन्मुख भएको आरोप एमाले नेताहरूले लगाउने गरेका छन् । राजनीतिमा लागेर बालेन बिग्रिएको एमालेको ठहर छ ।











