
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुलुक ढकालले आफूमाथि राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको स्वीकार गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीलाई रवि लामिछाने क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने उद्घोष गर्नेवितिक्कै आफूमाथि छापामार शैलीमा राजनीतिक आक्रमण हुँदा प्रतिरक्षाका क्रममा अनजानमा केही गल्ती भएको बताएका हुन् ।
‘प्रस्तुतिमा शैलीजन्य केही त्रुटिहरू प्रतिरक्षाका क्रममा मबाट भएकै छन् तर मैले यो बिचमा जे जति कुराहरू बोलेको छु, एक शब्द झुटो बोलेको छैन र मैले झुटो बोलेको छैन भनेर साबित गर्न जुनसुकै परीक्षण दिन पनि तयार छु। सत्यलाई सधैँ लुकाउन पक्कै पनि सकिँदैन,’ उनले भनेका छन् ।
त्यस्तै नेता ढकालले रवि लामिछाने क्लबले पार्टीबाट अवैधानिक ढङ्गले छापामार शैलीमा आफैँले बनाएको पार्टीबाट निष्कासन गरेको भन्दै हाल निर्वाचन आयोगमा न्याय निरूपणका लागि पुगेको पनि उल्लेख गरेका छन् ।
कतिपय कुराहरू समय क्रमसँगै प्रमाणित हुँदै गएको र कतिपय हुँदै जाने भन्दै पार्टीमा मुलतः तीन कुराहरूका लागि सङ्घर्ष सुरु गरेको उनको भनाई छ ।











