काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सबैको चाहना भएको भन्दै अब हिंसात्मक द्वन्द्व नहुने बताएका छन् । उनले देशमा हिंसात्मक द्वन्द्वले ठूलो पीडा भोग्नुपरेको टिप्पणी गर्दै यस्तो बताएका हुन् ।
बुधबार टीआरसी विधेयकसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘एउटा पीडादायी विगतबाट त हामी गुज्रियौँ । त्यसैले हामीले यसलाई समाधान गर्नुप¥यो । देशमा हिंसात्मक द्वन्द्व भयो । त्यसले देशलाई ठूलो पीडा पनि दियो । त्यसका सकारात्मक पक्ष पनि होलान् । त्यसलाई शान्तिमा लैजानुपर्ने अवस्था थियो । त्यसैको सन्दर्भमा हामीले अरू कुराहरू टुंग्यायौँ ।’

उनले ०६३ सालमै युद्ध र हिंसाको अन्त्य घोषणा गरिसकेपछि अब पनि यो विषयलाई धेरै लम्ब्याउन नहुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘अब कानून बनाएर कार्यान्वयनमा जानको लागि सबै दलको सहमति र सहकार्य आवश्यक छ ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘०६३ सालको सुरुदेखि नै युद्ध र हिंसाको अन्त्य भनेर घोषणा गरिसकेपछि र त्यसलाई अस्वीकार गरेका समूहहरूलाई पनि हिंसाका विचार र अभ्यासलाई पनि वार्ताको माध्यमबाट सहमतिमा ल्याइसकेपछि बाँकी राख्नु उचित हुँदैन । कहिले कहिले राजनीतिमा शंका आशंका हुनु स्वभाविक हो । तर, शान्ति हामी सबैको चाहना हो ।’
उनले विश्व समुदायले पनि स्वीकार्ने नमुनाको रूपमा बुझ्नुपर्ने बताउँदै भने, ‘सर्वोच्चको फैसलालाई सम्मान गर्दै पीडितमैत्री बनाऔँ भन्ने कुरालाई ध्यानमा राखेर अन्तिम रूपमा द्वन्द्वको अवशेषलाई समाप्त पारेर भविष्यमा यस्ता द्वन्द्व नहोस् भन्ने गरी यो ऐन बनेको छ ।’ उनले टीआरसी विधेयकलाई तुरुन्तै पारित गरिने पनि बताए ।
‘हामी यसलाई तुरुन्तै पारित गर्छौँ । यसका लागि आयोगहरुको गठन पूनर्गठन सबैसँग छलफलमा गर्छौ’ उनले भने, ‘कानून पारित गरेपछि कार्यान्वयनको जटिल परिस्थिति आउँछ त्यसका सबैको सहकार्य र सहमति चाहिन्छ ।’














