Logo
Logo

किट अभावले कर्णालीमा कोरोना परीक्षण प्रभावित


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, २३ बैशाख । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ ।
थ्रोट स्वाबको नमूना संकलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम पोलिमर चेन रियक्सन (आरटी पिसीआर) मेसिन सञ्चालनमा आउन सकेको छैन । गत मंगलबार प्रतिष्ठानले पिसीआर जडान गरेको थियो । प्रतिष्ठानका अनुसार प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शंकास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालासँग ३०० मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको जानकारी दिए । यहाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको पिसीआर मेसिन दिएको छ । पशु रोग अन्वेषण प्रयोगशालामा नयाँ आरटी पिसीआर मेसिन जडान भएपछि कम क्षमताको भनिएको उक्त मेसिन पनि थन्किएको छ ।
कर्णालीको सुर्खेत र जुम्लामा रहेका मेसिनले एकैपटक ९६ स्वाब नमूना परीक्षण गर्न सक्दछन् । तर, प्रदेशमा स्वाब सङ्कलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटीएम) तथा संकलित स्वाब परीक्षण गर्ने पिसीआर प्रोसेसिङ किट सकिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारीले एक साताअघि नै किट माग गरिएको बताए । ‘कर्णालीका लागि थप एक÷एक हजार भिटीएम सेट र प्रोसेसिङ किट माग गरेका छौँ, आएको छैन’, उनले भने, ‘जसले गर्दा आरडिटी र पिसीआर परीक्षण प्रभावित बन्यो ।’ उनका अनुसार कर्णालीमा हालसम्म पाँच हजार ५०० को आरडिटी तथा करिब एक हजार जनाको पिसीआर परीक्षण गरिएको छ । हालसम्म यहाँ भने कोरोना संक्रमण देखिएको छैन ।
छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । बाँकेमा फैलिँदो संक्रमणको नतिजाले कर्णालीमा पनि त्रास बढेको हो । परीक्षण न्यून भएकाले कोरोना नदेखिएको हो कि भन्ने आशंका गर्न थालिएको छ । दुई साता पहिले कर्णाली भित्रिएकाहरुको परीक्षण गरेपछि मात्रै वास्तविकता पत्ता लाग्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । किट अभावले भने परीक्षण ढिलाइ हुने भएको छ ।

कर्णालीमा वैशाखको पहिलो सातादेखि किट अभाव भएको थियो । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्