Logo
Logo

एएफसी च्यालेन्जः हिलाम्मे मैदानमा चर्च ब्वाइज पारोसँग पराजित


567
Shares

काठमाडौं । एएफसी च्यालेन्ज लिगअन्तर्गत आज भएको खेलमा भुटानको पारो एफसीले नेपाली टोली चर्च ब्वाइज युनाइटेडलाई २-१ गोलले पराजित गर्दै अघिल्लो चरणमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे। मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

तर वर्षाका कारण हिलाम्मे मैदानमा चर्च ब्वाइजको अग्रता लामो समय रहेन। त्यसको २ मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए। चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गा गोल गर्न सफल भए।

पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा पारोले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। त्यसपछि ६७औँ मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई जिताए।

जितसँगै पारो एफसी एएफसी च्यालेन्ज लिगमा छनोट भएको छ। जापानका स्टार खेलाडी होन्डासहित ११ जना विदेशी खेलाडीको साथ पाएको पारोलाई हिले मैदानमा खेल जित्न हम्मे हम्मे परेको थियो।

नेपाली राष्ट्रिय टोलीका खेलाडीसमेत समावेश रहेको चर्च ब्वाइज दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब शहीद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो।

प्रतिक्रिया दिनुहोस्