कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । असार २० गते कांग्रेस र एमालेको समर्थनमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रै विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री भएका शाह नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सहभागी छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा शाहको विश्वासको मत पुग्छ । नाउपाले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सबैले उनलाई विश्वासको मत दिए ३६ पुग्छ । उनी दुई तिहाइतर्फ उन्मुख देखिन्छन् ।
आज मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा दलहरूले दलको बैठक बोलाएका छन् । एमाले, कांग्रेस र नाउपाले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाउने तयारी गरेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने सम्भावना रहेको छ । राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र डा. तारा जोशीले पनि पक्षमा मतदान गर्ने सम्भावना कम रहेको छ ।














