Logo
Logo

असन्तुष्टिको नाममा हरेक पटक आगजनी र विध्वंस गरेर देश चल्दैन : प्रदीप ज्ञवाली


0
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक असन्तुष्टि र परिवर्तनका नाममा हरेक पटक हिंसा, आगजनी र विध्वंशको बाटो रोजेर देश अघि बढ्न नसक्ने बताएका हुन् ।  शनिवार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै ज्ञवालीले राजनीतिक असन्तुष्टिको अभिव्यक्ति हरेक पटक विध्वंसमा परिणत हुन नहुने  बताएका हुन् । उनले विगतका शासक अयोग्य भए पनि त्यसको जवाफ हिंसा र विनाश हुन नसक्ने बताए  । राजनीतिक परिवर्तनका नाममा भएका आगजनी, तोडफोड र विध्वंसले देशलाई ठूलो क्षति पु¥याउने भन्दै उनले त्यस्ता घटनालाई कुनै पनि बहानामा उचित ठह¥याउन नमिल्ने बताए । 

ज्ञवालीले सङ्क्रमणकालीन न्याय प्रक्रियामा भएको ढिलाइ सत्य भएपनि त्यसलाई गत वर्ष भएका हिंसात्मक घटनाको औचित्य पुष्टि गर्ने आधार बनाउन नमिल्ने बताए । कुनै व्यक्ति वा समूह अयोग्य भए त्यसलाई दण्डित गर्ने अन्य कानूनी उपाय रहेको उल्लेख गर्दै उनले विध्वंसले समाधान नदिने स्पष्ट पारे । उनले शान्ति प्रक्रियाका क्रममा भएका घटनाको सत्य स्थापित गर्न तत्काल आयोग गठन गर्नुपर्नेमा पनि जोड दिए । न्यायको पाटोलाई सम्बोधन गर्दै द्वन्द्वकालीन घटनाको सत्य स्थापित गर्नु अहिलेको पहिलो आवश्यकता रहेको उनको भनाइ छ । 

उनले भने, ‘द्वन्द्वका घटना नदोहोरिऊन् भन्नका लागि न्यायको पक्षलाई सम्बोधन गर्नैपर्छ । तर आजको पहिलो आवश्यकता सत्य स्थापित गर्नु हो, र त्यसका लागि तत्काल आयोग गठन हुनुपर्छ । नेपालको शान्ति प्रक्रिया सबै राजनीतिक दलको साझा एजेण्डा भएकाले नयाँ सरकारले पनि यसलाई साझा प्रतिवद्धताका रूपमा अघि बढाओस् भन्ने मेरो आग्रह छ । सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको सत्य हो । तर त्यसले गत वर्ष देशले भोग्नुपरेको हिंसा, विध्वंस र पीडालाई कुनैपनि अर्थमा उचित ठह¥याउँदैन । सरकारको अक्षमता वा असन्तुष्टिको समाधान हिंसा र विनाश होइन । राजनीतिक परिवर्तनका नाममा आगजनी र विध्वंसलाई सामान्य मान्न सकिँदैन । विगतका कमजोरीको मूल्याङ्कन इतिहासले गर्ला, तर त्यसलाई हिंसाको औचित्यका रूपमा प्रस्तुत गर्नु हुँदैन ।’

नेपालको शान्ति प्रक्रिया राजनीतिक दलहरूको साझा एजेण्डा भएकाले नयाँ सरकारले पनि त्यसलाई साझा राष्ट्रिय मुद्दाका रूपमा ग्रहण गर्नुपर्ने उनले बताए ।  

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000