
काठमाडौं । संघीय संसद्को दुई वटा समितिका सभापति भोलि (बिहीबार)चयन हुने भएका छन् । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति चयनका लागि भोलि हुने चुनावी कार्यक्रम सार्वजनिक गरेको छ ।
समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस भनेर अर्काे एक सदस्यको समर्थनसहित आज दिउँसो २ देखि ४ बजेसम्म नयाँ बानेश्वरमा रहेको संसद् भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नु पर्नेछ ।
आजै दिउँसो साढे चार बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ । भोलि बिहीवार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सार्वजनिक चुनावी कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभाको चुनाव भएको झण्डै डेढ वर्षपछि संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति चयन हुन लागेको हो ।
संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको गठन नै भएको छैन ।















