
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ? भनेर प्रश्न गरेका छन् । पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै मुकुलले सभापति लामिछानेमाथि नै गम्भीर तीन प्रश्न तेर्स्याएका हुन् ।
पहिलो, सहकारी प्रकरणमा सर्वोच्चको फैसला, दोस्रो– दुईवटा राहदानी प्रकरण र तेस्रो– गृहमन्त्री रहँदा सरुवा बढुवामा चलखेल गरेको भन्दै गम्भीर प्रश्न उठाएका हुन् ।
‘असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईँमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ । सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतको फैसलालाई तपाईँ मान्ने कि नमान्ने ? फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने ? देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफू माथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ ? रवि लामिछाने ज्यू ?’
उनले रविलाई दुईवटा राहदानी (पासपोर्ट) प्रयोग गरेको विषयमा पनि प्रश्न गरेका छन् । उनले प्रश्न गर्दै भनेका छन्, ‘ती पासपोर्टका सबै पाना सार्वजनिक गर्ने आँट छ ?’
अन्तिम प्रश्नमा मुकुलले भनेका छन्, ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईंले गृह मन्त्रालय सम्हाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नुभयो, जनता र पार्टीका साथीहरुलाई स्पष्ट पार्नुहोस् । कार्य सम्पादन मूल्यांकनमा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नुभयो, त्यो भ्रष्टाचारको संकेत होइन ? आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरुको बैंक स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू ?’
उनले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् ।
‘मैले आजसम्म तपाईँलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन् । तपाईँले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ । नैतिक रूपले पतित हुनु भएको छैन भने तपसिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु,’ ढकालले भनेका छन् ।















