
रेल त समाजवादको गन्तव्यतिर हिँडेको थियो,
समानताको सपना बोकेर अघि बढेको थियो,
श्रमको पसिनाले भविष्य कोर्ने वाचा थियो,
र, भोकाहरूको चुलोमा उज्यालो भर्ने आशा थियो ।
स्टेसन–स्टेसनमा नाराहरू घन्किएका थिए,
परिवर्तनका गीतहरू गुञ्जिएका थिए,
कसैले सुखी जीवनको टिकट काटेका थिए,
अनि, कसैले समृद्धिको सपना साँचेर बसेका थिए ।
तर अचानक रेलको दिशा बदलियो,
समृद्धिको लिकबाट समाजवादी रेल खुस्कियो,
चालकको हातमा जनताको भरोसा थियो,
तर, उसको नजर आफ्नै कुर्सीमाथि थियो ।
रेलभित्र मजदुरको पसिना रगत बनेको छ,
किसानको खेत बाँझो, बारी उजाडिएको छ,
युवाको हातमा श्रम गर्ने सीप छ,
तर, देशभित्र अवसरको ढोका बन्द छ ।
कसैको महल आकाश छुने गरी ठडिएको छ,
कसैको झुपडी वर्षात्मा भत्किएको छ,
कसैका थालमा छत्तीस व्यञ्जन सजिएका छन्,
कसैका चुलोमा आगोसमेत निभेका छन् ।
समाजवादको पाठ मञ्चबाट पढाइन्छ,
समानताको नारा भाषणमा सुनाइन्छ,
तर व्यवहारमा वर्गीय खाडल गहिरिँदै जान्छ,
सम्पत्तिको पहाड र गरिबीको खाडल बढ्दै जान्छ ।
रेलका डिब्बामा पहुँचवालाको राज छ,
सर्वसाधारण यात्रुको भागमा प्रतीक्षा र निराशा छ,
न्यायको टिकट काट्नेहरू ढोकामै रोकिएका छन्,
शक्तिका यात्रुहरू भने विनाटिकट चढेका छन् ।
कहाँ हरायो श्रमको सम्मान गर्ने समाज ?
कहाँ हरायो शोषणमुक्त जीवनको आवाज ?
कहाँ पुग्यो समान अवसरको त्यो प्रतिबद्धता ?
कहाँ बिलायो जनताको सर्वोच्चताको अवधारणा ?
क्रान्तिका सपना सत्ताको गल्लीमा हराए,
त्याग र बलिदानका इतिहास सम्झौतामा थन्किए,
हिजो परिवर्तनका लागि उठेका हातहरू,
आज सत्ताको भागबन्डामा व्यस्त देखिए ।
तर अझै पनि आशाको दियो निभेको छैन,
जनताको चेतनाको उज्यालो मरेको छैन,
इतिहासले फेरि प्रश्न गरिरहेको छ,
समाजवाद भाषणमा कि जनताको जीवनमा ?
हामीलाई सुनको रेल चाहिएको होइन,
न त महलभित्रको कृत्रिम समृद्धि चाहिएको हो,
हामीलाई पसिनाको उचित मूल्य चाहिएको छ,
श्रम गर्ने हातलाई सम्मान चाहिएको छ ।
जहाँ किसानले आफ्नै माटोमा भविष्य देखोस्,
जहाँ युवाले आफ्नै देशमा सम्भावना भेटोस्,
जहाँ शिक्षा र स्वास्थ्य व्यापार नबनोस्,
जहाँ न्याय धन र शक्तिको बन्धक नबनोस् ।
समाजवाद कुनै सत्ताको साइनबोर्ड होइन,
यो त श्रमिकको जीवन बदल्ने आधार हो,
यो कुनै नेताको भाषणको सजावट होइन,
यो त समानता र न्याय स्थापित गर्ने विचार हो ।
अब रेलको लिक सच्याउनैपर्छ,
स्वार्थको इन्जिन फेर्नैपर्छ,
सत्ताको चालक होइन,
जनताको आवाज बोल्ने सारथि चाहिन्छ,
नाराको होइन,
व्यवहारको समाजवाद चाहिन्छ ।
किनकि समृद्धि केही महलको उचाइ होइन,
समृद्धि त सबैको जीवनमा उज्यालो हो,
समाजवाद सत्तामा पुग्ने भ¥याङ होइन,
यो त आममानिसको मुहारमा,
मुस्कान ल्याउने बाटो हो ।
रेल अझै रोकिएको छैन,
गन्तव्य अझै टाढा छ,
लिक सच्याउने जिम्मेवारी
अब जनताको काँधमा छ,
इतिहासले फेरि,
एउटा नयाँ यात्रा मागिरहेको छ,
समाजवादलाई नाराबाट व्यवहारमा
उतार्ने समय आइरहेको छ ।


















