काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने भएका छन् ।

बिहीबार पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान केपी शर्मा ओली सरकारको काम कारबाहीबारे केही दिनमा संसद्मै बोल्ने बताएका हुन् । ‘यो सरकारको विषयमा म केही दिनमा संसद्मै बोल्छु’, उनले भने ।
अध्यक्ष प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला पनि गलत भएको भन्दै भने, ‘पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का र भ्रम पनि यो बैठकबाट चिरियो’, उनले भने, ‘कमरेड जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउने भनेर भएको चर्चा आशङ्का गलत हो ।’
अध्यक्ष प्रचण्डले टीआरसी विधेयकका सवालमा अब शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको भन्दै लामो समय लगाएर विधेयकलाई पीडित मैत्री बनाउने प्रयास गरिएको बताए ।
उनले भने, ‘पीडित साथीहरूलाई ढुक्क रहन आग्रह गर्छु अब सबै मिलेर कार्यान्वयनमा लैजानुपर्छ । उनीहरूका लागि परिपूरण र सम्मान भएकाले कसैले पनि अन्यथा लिनुपर्ने छैन ।’














