भक्तपुर । भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो ।
तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।
त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् ।
प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पताल पठाएको छ ।














