Logo
Logo

आज ६ वटा संसदीय समितिको बैठक बस्दै


315
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल हुनेछ । छलफलका लागि समितिले महान्यायाधिवक्ता र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बोलाएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ नै बस्दै छ । बैठकमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखिकिकरण तालिम प्रदायक संस्थामा वैदेशिक रोजगार विभागबाट भएको अनुगमन तथा कारबाहीका सम्बन्धमा छलफल हुनेछ ।

वैदेशिक रोजगार संस्थाहरूको नवीकरण प्रकृया तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निवेदनमाथि छलफल, श्रमसँग सम्बन्धित कानुन समसामयिक बनाउने सम्बन्धमा मन्त्रालयको तयारीका सम्बन्धमा छलफल गर्ने बैठकको कार्यसूची छ ।
हवाइ टिकट आपूर्तिमा भएको आर्थिक अनियमितताका सम्बन्धमा ईपीएसमार्फत् दक्षिण कोरिया जाने कामदारहरूबाट प्राप्त उजुरीमाथि पनि छलफल हुनेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । बैठकमा सामाजिक परिचालिकाहरूको व्यवस्थापन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०÷०८१ र बजेट वक्तव्यमा व्यक्त वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित विषयको कार्यान्वयनको अवस्था र उपलब्धीका सम्बन्धमा मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ । बैठकमा समितिले वन तथा वातावरणमन्त्री र सचिवलाई बोलाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस गरेर छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्