
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघर दुर्घटनाको छानविन गर्न निर्देशन दिएका छन् ।
बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् ।
गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’
बिहीबार दिउँसो करिब साढे १ बजेको समय ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उद्यपी मृतकको सनाखत भइसकेको छैन । घटनास्थलबाट फरार भएका ट्रक चालकलाइ बिहीबार साँझ नै काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।
सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत हानेको थियो ।














