काठमाडौं । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले थामेमा तत्काल बाढी आउने सम्भावना नरहेको बताएका छन् ।

शनिबार अध्यक्ष शेर्पाले बस्तीदेखि माथिका हिमताल फुट्दा बाढी आएको र शनिबार हेलिकप्टरबाट अवलोकन गर्दा अरु तालहरु फुटेर तत्काल बाढी आउने जोखिम नदेखिएको बताए ।
उनले भने, ‘तल्लो भेगमा अझै पनि खतरा छ कि भन्ने शंका छ, हामीले त्यो देखेनौं, त्यहाँ चार वटा पोखरी रहेछ, तीनवटा पोखरी निलो रहेछ, निलो पोखरी त्यत्तिकै छ, छेउमा सानो पोखरी पनि रहेछ, त्यो फुटेको रहेछ । अब थप क्षति हुने अवस्था छैन ।’
पूर्ण रुपमा क्षति भएको १५ घरपरिवारलाई पालिकाले तत्काल बसोबासको व्यवस्था गर्न ५० हजार रुपैयाँ राहत दिएको अध्यक्ष शेर्पाले जानकारी दिए । संघीय सरकारको गृह मन्त्रालयले पनि १५ घरपरिवारलाई तत्काल बसोबासको व्यवस्था मिलाउन १५ हजार रुपैयाँ दिएको छ ।
बाढीबाट प्रभावित अन्य ३१ घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिएको शेर्पाले जानकारी दिए । अध्यक्ष शेर्पाले अन्य राहत पीडितको बर्गीकरण गरेर दिने बताए ।














