
काठमाडौं । साफ यू–२० च्याम्पियनसिप २०२४ आजदेखि सुरु हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकाको सामना गर्नेछ ।
नेपाल घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने तयारीमा छ । नेपालले अन्डर एटिन र अन्डर नाइन्टिन साफ च्याम्पियनसिप जिते पनि यू–२० उमेर समूहको प्रतियोगिता भने हालसम्म जित्न सकेको छैन ।
हिजो भएको प्रि–म्याच कन्फरेन्समा सहभागी सबै ६ देशले आफ्नो टोली च्याम्यिन बन्ने दाबी गरेका छन् । प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल सम्मिलित समूह ‘ए’मा श्रीलंका र बंगलादेश छन् भने समूह ‘बी’मा भारत, भुटान र माल्दिभ्स छन् ।
भारी वर्षालगायत प्रतिकूल मैदानका कारण समूह चरणका सबै खेल दशरथ रंगशालाबाट एन्फा कम्प्लेक्समा सारिएको थियो । मौसममा सुधार आए र पिच खेल्न योग्य भए सेमिफाइनल र फाइनल दशरथ रंगशालामा हुने सम्भावना छ ।














