
झापा । गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना पनि उडाएको छ ।
धेरैतिर रुखहरुसमेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए ।
राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ ।
चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको प्रहरीले जनाएको छ । कारमा पाँच जना सवार रहेका थिए। ती सबै सकुशल छन् ।
हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।














