
काठमाडौं । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ । शुक्रबार बेलुकी परेको पानीले जाजरकोटको छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३ कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२ कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै भेरी नगरपालिका–११ स्थित खोदाखोला नजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ । जाजरकोट प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध छ ।
केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध हो । सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ ।














