काठमाडौं । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री डाक्टर आरजु राणा पाँच दिने भ्रमणका लागि भारत गएका छन् । परराष्ट्रमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण पनि हो ।
भारतसँग राम्रो सम्बन्ध नभएको दाबी गरिएका प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटकी परराष्ट्रमन्त्री राणाको यो भ्रमणलाई निकै चासोको साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने तयारी भइरहेको छ ।

नयाँदिल्लीले पनि मन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत दिएको छ । उनको भ्रमणको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै दिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रूपमा परिभाषित गरेको छ । साथै दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग भेटघाटको प्रबन्ध मिलाउने वचन पनि दिएका छन् । तर, भेट्ने यकिन भने भइसकेको छैन ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले औपचारिक रूपमा प्रधानमन्त्री ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मूका लागि नेपाल भ्रमणको निमन्त्रणा पत्र दिने छन् । भेटेरै निम्तो दिने मन्त्री राणाको इच्छा भएपनि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटका लागि समय प्राप्त भइसकेको छैन । अघिल्लो हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीमार्फत् पनि ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
दुई देशबिचको सम्बन्ध विस्तारसँगै उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने गरी यस भ्रमणमा मन्त्री राणाले पहल गर्ने अनुमान छ । भ्रमणका क्रममा उनले दुई देशबिचको विकास साझेदारी तथा भावी सहकार्यका कार्यसूचीमाथि विदेशमन्त्री जयशङ्करलगायतका उच्चाधिकारीसँग छलफल गर्ने जनाइएको छ । त्यस्तै भारत भ्रमणकै बेलामा राणाले आफ्नो स्वास्थ्य उपचार पनि जनाइएको छ ।
नेपालको प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत नै हुने परम्पराजस्तै बनेको छ । तर, भारतसँग तिक्ततापूर्ण सम्बन्ध रहकै कारण प्रधानमन्त्री भएपछि ओलीले आफ्नो पहिलो भ्रमण थाईल्याण्डबाट गर्न तयारी गरेका छन् । त्यसपछि उनी अमेरिका जाने तयारीमा छन् । यस्तो परिप्रेक्ष्यमा परराष्ट्रमन्त्री राणाको भ्रमण यही सहजिकरणको तयारीका रूपमा समेत हेरिएको छ ।
छिमेक चिढ्याउने होड
२०७२ असोजमा संविधान जारी भएपछि गरिएको नाकाबन्दीका कारण नेपालमा मोदी अलोकप्रिय भएको जगजाहेर नै छ । नेपालको संविधानप्रति भारतले नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिशोध साध्ने काम गरिरह्यो । पहिलोपल्ट सत्ताको बागडोर सम्हाल्न पुगेका मोदी र संविधान जारीसँगै पहिलोपल्ट प्रधानमन्त्री बनेका ओलीकै कारण नेपाल–भारत सम्बन्ध बिग्रियो ।
भारतको कडा विरोध गरेकै कारण ओली राष्ट्रवादी नेताको रूपमा समेत चिनिए । सोही कारण २०७४ मङ्सिरको संघीय संसद्को निर्वाचनमा ओलीको ’राष्ट्रवाद’ को कार्डले जादु ग¥यो र उनी झन्डै दुई–तिहाइ बहुमतका साथ दोस्रो पल्टका लागि सत्ताको बागडोर सम्हाल्न पुगे । यसबीच विकसित एकपछि अर्को घटनाक्रमले नेपाल–भारत सम्बन्धलाई धेरै धमिल्याएको छ ।
त्यसैगरी कोभिड–१९ महाव्याधिबाट जनजीवन आक्रान्त बनिरहेको अवस्थामा लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन जस्ता कार्यले मोदीको नेपालप्रतिको हेपाइ देखाउँछ । लिम्पियाधुरासम्मको भूभाग नेपालको नक्सामा समेट्ने राजनीतिक निर्णय लिँदै गर्दाको बखत ओलीले जसरी भारतको राष्ट्रिय निशान सम्राट् अशोककालीन चारमुखे बाघलाई इशारा गर्दै ’सत्यमेव जयते’ कि ’सिंहमेव जयते’ भन्ने प्रश्न गरे ।
त्यसले भारतीय संस्थापनलाई मात्र नभएर आमजनलाई नराम्ररी चिढ्यायो । त्यसयता भारतको क्रियाप्रति नेपालबाट प्रतिक्रिया उत्पन्न भइरहेको छ, त्यसबाट सरकार–सरकारबीच मात्र नभएर जनस्तरको सम्बन्धलाई समेत नराम्ररी प्रभावित गरेको छ । त्यस्तै राम नेपालमा जन्मिएको ओलीको र गौतम बुद्ध आफ्नो देशको भएको भारतले दाबी गर्नुले पनि नेपाल–भारत सम्बन्ध बिग्रिएको छ । त्यस्तै चुच्चे नक्साका कारण पनि नेपाल–भारतको सम्बन्ध बिग्रिएको छ ।
नेपाल–भारतबिच जनस्तरको सम्बन्ध यो तहसम्म पुग्नुमा ओली र मोदी नै जिम्मेवार छन् । तर, पछिल्लो समय भने ओली र मोदी दुवै सम्बन्ध सुधार्ने पक्षमा देखिन्छन् । भारतलाई नफकाई कोही धेरै टिक्न नसकिने अवस्थाकाबीच ओलीले भारतसँगको सम्बन्ध सुधार गर्ने चाहन्छन् । मोदी तेस्रो कार्यकालसम्म आइपुग्दा छिमेक नीतिमा नराम्ररी चुकिसकेका छन् ।
पाकिस्तानसँग मात्र नभएर चीनसँग समेत सीमा विवादमा तनाव, नेपालसँगको तिक्तता र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले मोदीको छिमेक नीति असफल भन्दा पनि अवसानोन्मुख देखिन्छ । सोही कारण मोदीले पनि नेपालसँगको सम्बन्ध सुधार्न चाहेको बताइएको छ ।
अहिले नेपाल–भारतबिच उत्पन्न असमझदारीको निदान ‘टिट फर ट्याट’ भन्द पनि कूटनीति हो । तेस्रो पटक सत्ताको बागडोर सम्हालेका मोदी र चौथो पटक प्रधानमन्त्री बनेका ओलीले कस्तो कूटनीति चाल्लान् र नेपाल–भारतको सम्बन्ध सुध्रिएला कि झनै बिग्रिला भन्ने चाहिँ आगामी दिनले नै बताउने छ ।














