Logo
Logo

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार टिक्दैनः प्रभु साह 


378
Shares

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । 

आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए । 

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन । यो गठबन्धन नै जनादेश विपरीतको छ । केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो । वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’ आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरीत, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन । केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दै टिक्दैन् ।’

भ्रष्ट नेताहरूको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुट्न आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरूको अन्त्य हुनै पर्ने बताउँदै उनले अब देश लुट्ने नेताहरूलाई राज्यले कारबाही गर्न नसकेकाले अब जनताले नै जनकारबाही गर्नुपर्ने बताए । 

‘भ्रष्ट नेताहरू मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डै काण्डले देश बदनाम छ । युवा विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको विकल्प छैन’ साहले भने, ‘भ्रष्टाचारीहरू अहिले सम्मानित भइरहेका छन् तर स्वाभिमानी युवाहरू अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनै पर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कङ्गाल बन्दै गइरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरू उठ्नपर्छ ।’ 

देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरू देशमै रोजगार नपाउने अवस्था आएको बताए । लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरूले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरूले मिलेर मासे र दलतन्त्र ल्याए । आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन् ।’ 

एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र कांग्रेसको दुई दलीय सिन्डिकेट तोड्न तोड्नुपर्ने बताए । लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले भ्रष्टाचारी नेताहरूलाई देशबाट लखेटनमा युवाहरूले ढिलाइ गर्न नहुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्