काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी कमिटीलाई सडक आन्दोलनका लागि तयार रहन सर्कुलर गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सर्कुलर जारी गरेका हुन् ।

सर्कुलरमा कांग्रेस र एमालेले गरेको सहमति सुशासनको अभियानलाई अवरुद्ध गर्न र मुलुकलाई २०४७ तिर फर्काउन भएको दाबीसहित सडक आन्दोलनका लागि तयार रहन उल्लेख छ ।
कांग्रेस र एमाले मिलेर सरकार गठन गरेदेखि प्रचण्डले सार्वजनिक मञ्चहरूमा सरकारले राम्रो काम गरेपछि डराएर गठबन्धन गरेको दाबी गर्दै आएका छन् । सर्कुलरमा स्थायी समिति बैठकका पार्टी अध्यक्ष प्रचण्डले राखेका धारणा समावेश गरिएको छ जसमा एमाले र कांग्रेसबीचको सहमति पश्चगामी भएको र संसद्मा सशक्त भूमिका प्रस्तुत हुनुपर्ने उल्लेख छ ।
संसद्मा सशक्त भूमिका निभाएपछि पनि प्रतिगमन, राष्ट्रघात र भ्रष्टाचारको संरक्षण गर्ने दिशामा सरकार अगाडि बढेमा कुनै पनि समयमा सडक आन्दोलनमा जानुपर्ने उल्लेख छ ।
पार्टीको स्थायी समिति बैठकमा पार्टीको नेतृत्वको समेत आलोचना भएको थियो । सर्कुलरमा पार्टी नेतृत्वको पक्षमा एकताबद्ध भएर उभिन निर्देशन समेत दिइएको छ ।














