काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेका छन् ।
सोमबार नयाँदिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका हुन् ।

मोदीसँग भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेका छन्– ‘मैले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजकीय भ्रमणको लागि भारतीय प्रधानमन्त्री मोदीलाई पठाउनु भएको निमन्त्रणा हस्तान्तरण गरेको छु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ । हामीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल ग¥यौँ । मलाई आशा छ यो भ्रमण र हाम्रा उच्चस्तरीय भेटघाटले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेछ ।’
मोदीले नबोलाएपछि ओलीको निम्तो
नेपालको प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत नै हुने परम्पराजस्तै बनेको छ । तर, भारतसँग तिक्ततापूर्ण सम्बन्ध रहकै कारण प्रधानमन्त्री भएपछि ओलीले आफ्नो पहिलो भ्रमण थाईल्याण्डबाट गर्न तयारी गरेका छन् । त्यसपछि उनी अमेरिका जाने तयारीमा छन् । यस्तो परिप्रेक्ष्यमा परराष्ट्रमन्त्री राणाको भ्रमण यही सहजिकरणको लागि भारत गएका हुन् ।
गत साउनको अन्तिम साता भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणमा आएका थिए । प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्दा पनि उनले ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् । ओलीले भने मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए ।
ओलीसँग किन चिढिए मोदी ?
२०७२ असोजमा संविधान जारी भएपछि गरिएको नाकाबन्दीका कारण नेपालमा मोदी अलोकप्रिय भएको जगजाहेर नै छ । नेपालको संविधानप्रति भारतले नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिशोध साध्ने काम गरिरह्यो । पहिलोपल्ट सत्ताको बागडोर सम्हाल्न पुगेका मोदी र संविधान जारीसँगै पहिलोपल्ट प्रधानमन्त्री बनेका ओलीकै कारण नेपाल–भारत सम्बन्ध बिग्रियो ।
१ असोज ०७२ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भएर आएका विदेशसचिव एस जयशंकर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै बालकोटस्थित केपी शर्मा ओलीनिवास पुगे र ओलीसँग अढाइ घन्टा वार्ता गरे ।
जयशंकरमार्फत मोदीको सन्देश थियो– ‘संविधान जारी गर्ने समयसीमा–३ असोज) साता–दश दिन लम्ब्याएर भए पनि मधेसीलाई सहमतिमा ल्याउनुप¥यो । अन्यथा भारतले संविधानलाई स्वागत गर्दैन, त्यो अवस्थामा नेपालमा चैन हुँदैन ।’ तर, उक्त चेतवानी वेवास्था गर्दै संविधान जारी भयो । त्यसपछि ओली–मोदीको सम्बन्धमा दरार उत्पन्न भयो ।
संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्यो । भारतको त्यो कदमको ओलीले कडा विरोध गरे । भारतको कडा विरोध गरेकै कारण ओली राष्ट्रवादी नेताको रूपमा समेत चिनिए ।
सोही कारण २०७४ मङ्सिरको संघीय संसदको निर्वाचनमा ओलीको ’राष्ट्रवाद’ को कार्डले जादु ग¥यो र उनी झन्डै दुई–तिहाइ बहुमतका साथ दोस्रो पल्टका लागि सत्ताको बागडोर सम्हाल्न पुगे । यसबीच विकसित एकपछि अर्को घटनाक्रमले नेपाल–भारत सम्बन्धलाई धेरै धमिल्याएको छ ।
त्यसैगरी कोभिड–१९ महाव्याधिबाट जनजीवन आक्रान्त बनिरहेको अवस्थामा लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन जस्ता कार्यले मोदीको नेपालप्रतिको हेपाइ देखाउँछ । लिम्पियाधुरासम्मको भूभाग नेपालको नक्सामा समेट्ने राजनीतिक निर्णय लिंदै गर्दाको बखत ओलीले जसरी भारतको राष्ट्रिय निशान सम्राट अशोककालीन चारमुखे बाघलाई इशारा गर्दै ’सत्यमेव जयते’ कि ’सिंहमेव जयते’ भन्ने प्रश्न गरे । त्यसले भारतीय संस्थापनलाई मात्र नभएर आमजनलाई नराम्ररी चिढ्यायो ।
त्यसयता भारतको क्रियाप्रति नेपालबाट प्रतिक्रिया उत्पन्न भइरहेको छ, त्यसबाट सरकार–सरकारबीच मात्र नभएर जनस्तरको सम्बन्धलाई समेत नराम्ररी प्रभावित गरेको छ । त्यस्तै राम नेपालमा जन्मिएको ओलीको र गौतम बुद्ध आफ्नो देशको भएको भारतले दाबी गर्नुले पनि नेपाल–भारत सम्बन्ध बिग्रिएको छ । त्यस्तै चुच्चे नक्साका कारण पनि नेपाल–भारतको सम्बन्ध बिग्रिएको छ ।
नेपाल–भारतबिच जनस्तरको सम्बन्ध यो तहसम्म पुग्नुमा ओली र मोदी नै जिम्मेवार छन् । तर, पछिल्लो समय भने ओली र मोदी दुवै सम्बन्ध सुधार्ने पक्षमा देखिन्छन् । भारतलाई नफकाई कोही धेरै टिक्न नसकिने अवस्थाकाबीच ओलीले भारतसँगको सम्बन्ध सुधार गर्ने चाहन्छन् । मोदी तेस्रो कार्यकालसम्म आइपुग्दा छिमेक नीतिमा नराम्ररी चुकिसकेका छन् ।
पाकिस्तानसँग मात्र नभएर चीनसँग समेत सीमा विवादमा तनाव, नेपालसँगको तिक्तता र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमले मोदीको छिमेक नीति असफल भन्दा पनि अवसानोन्मुख देखिन्छ । सोही कारण मोदीले पनि नेपालसँगको सम्बन्ध सुधार्न चाहेको बताइएको छ ।
अहिले नेपाल–भारतबिच उत्पन्न असमझदारीको निदान ‘टिट फर ट्याट’ भन्द पनि कूटनीति हो । तेस्रो पटक सत्ताको बागडोर सम्हालेका मोदी र चौथोपटक प्रधानमन्त्री बनेका ओलीले कस्तो कूटनीति चाल्लान् र नेपाल–भारतको सम्बन्ध सुध्रिएला कि झनै बिग्रिला भन्ने चाहिँ आगामी दिनले नै बताउने छ ।














