Logo
Logo

देउवा र ओलीले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव छैन : माधव नेपाल


3.1k
Shares

काठमाडौँ । पा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कांग्रेस र एमालेका दुईवटा ठुला नेताले मध्यरातमा हस्ताक्षर गरेर संविधान संशोधन सम्भव नभएको भएका छन् ।

मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिचको सहमतिले समस्या समाधान नहुने र नेताहरूले मनन गर्नुपर्ने बताए ।

उनले संविधानले के दिएको र नदिएको भन्नेबारे छलफलको विषय बन्न सक्नेमा आफ्नो फरक मत नरहेको पनि बताए । उनले भने, ‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ ।’

कार्यक्रममा नेपालले स्व. गिरीले नेपाली राजनीति र समाजमा पुर्‍याएको योगदानको चर्चा गर्दै गिरीको अभाव खड्किएको अनुभव भइरहेको बताए । नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताए ।

उनले नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको बताए । उनले भने, ‘तबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ । हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’ उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने जिम्मेवारी नेता र दलहरूमा आएको पनि बताए । उनले समाजवादको भिन्न–भिन्न परिभाषा हुने गरेको भन्दै आफूहरूले भनेको समाजवाद एकदलीय वा दुई दलीय व्यवस्थाबाट सम्भव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्