Logo
Logo

माओवादीसँग नेकपा एसको एकता होला ?


9.3k
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता गठबन्धन बनेसँगै सत्ताबाट बाहिरिएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संकटमा परेका छन् । माओवादीको घट्दो जनमत र पार्टीभित्रको अन्तर कलहले प्रचण्डलाई घेरेको छ । त्यसैले उनी संकटमोचनको उपाय खोजिरहेका छन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्न प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार माओवादीको स्थायी समिति बैठकमा प्रचण्डले एकता प्रक्रिया भाँड्ने गरी प्रस्तुत नहुन नेताहरूलाई चेतावनी दिएका थिए । उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई नेतृत्व छाड्न दबाब दिँदै बैठकमा लिखित प्रस्ताव राखेका थिए । शर्माले नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण गर्न प्रचण्डलाई चुनौती दिएका थिए ।

माओवादीको विवादकै कारण एकता प्रक्रिया पछाडि धकेलिएको स्रोतको दाबी छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपाबीच दसैँ अगाडि नै एकता गर्ने गरी छलफल चलेको थियो । माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द र नेसपा अध्यक्ष महिन्द्रराय यादवबीच तीन÷चार चरण छलफल भइसकेको छ ।

सैद्धान्तिक रुपमा शीर्ष नेताहरू सहमत भएपछि कार्यदललाई गृहकार्य गर्न जिम्मा दिइएको थियो । र, जिल्ला–जिल्लाको अवस्था बुझ्न नेताहरू निर्देशन दिइएको थियो । तर, जिल्ला तहका एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता माओवादीसँग एकता गर्न तयार छैनन् । बरु एमालेमै फर्किन तयार छन् ।

माओवादी र एकीकृत समाजवादीको स्कुलिङ नै मिल्दैन । एकीकृत समाजवादीमा माओवादीसँग मिल्नुभन्दा एमालेसँग मिलेकै राम्रो भन्ने देशैभरका कार्यकर्ताको बाहुल्यता छ । ‘माओवादीसँग मिल्न हामीले विद्रोह गरेका होइनौँ । विधिअनुसार चल्ने बलियो पार्टी निर्माण गर्न गरिएको विद्रोहको औचित्य माओवादीसँग मिलेर पुष्टि हुँदैन ।’ लुम्बिनीका एक नेताले दृष्टिसँग फोनमा भने । ती नेताका अनुसार माओवादीसँग एकता गर्दा आधाभन्दा बढी कार्यकर्ताले पार्टी छाड्ने स्थिति बन्छ ।

यद्यपि, एकीकृत समाजवादीले वामपन्थी एकताको प्रस्ताव महाधिवेशनबाट पारित गरेको छ । पार्टी गठन भएदेखि नै एकीकृत समाजवादी वाम एकता र कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा उभिँदै आएको छ ।

विभिन्न पार्टीलाई एकतामा पनि ल्याइसकेको छ । पार्टी एकता भनेको विचार, सिद्धान्त, राजनीति, संगठन, कार्यशैली र मनोविज्ञानको विषयमा पर्याप्त छलफल भएर हुने कुरा हो । केही नेताको पद व्यवस्थापनको लागि एकता गर्ने हो भने त्यसले समस्या निम्त्याउँछ । हतारमा एकता गर्दा विगतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हालत देखिएकै छ ।

एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी प्रचण्डसँग पार्टी एकता हुनै नसक्ने दाबी गर्छन् । प्रचण्डले धोका मात्रै दिएकाले फेरि धोका खाने राजनीतिक आफूहरूले नगर्ने उनले स्पष्ट पारे । ‘हामीले प्रचण्डलाई साथ दिँदै आयौँ । बदलामा प्रचण्डबाट हामीले धोका मात्रै पायौँ । धोकाको राजनीति लामो समय चल्दैन । प्रचण्डसँग हामी पार्टी एकता गर्दैनौँ ।’

तर, प्रचण्डले भने अध्यक्ष नेपाललाई चुनाव चिह्न एकीकृत समाजवादीकै ‘कलम’ राख्ने, नेपाललाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्री बनाउनेसम्मको प्रस्ताव राखेको स्रोतको दाबी छ । स्मरणीय छ, प्रचण्डले धोका नदिएको भए काँग्रेससहितको गठबन्धनबाट अबको केही समयपछि नेपाल प्रधानमन्त्री बन्ने थिए ।

प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गरेपछि अध्यक्ष नेपालको प्रधानमन्त्री बन्ने बाटो बन्द भएको हो । प्रचण्डले एमाले अध्यक्ष ओलीसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेर कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई धोका दिएका थिए । ओलीले देउवासँग सत्ता सहकार्य गरेपछि प्रचण्डले पुनः धोका खाएका छन् ।

प्रचण्डले देउवा र नेपाललाई मात्रै होइन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि धोका दिएका छन् । समाजवादी मोर्चा र सरकारमा प्रचण्डसँगै रहेका यादवको दल नै विभाजन गरिदिए । दल विभाजन हुँदा यादव सरकारको उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।

ओलीको षडयन्त्रमा फसेर जसपा नेपाललाई विभाजन गराउन प्रचण्डले भूमिका खेलेका थिए । प्रचण्ड इमान्दार भइदिइएको भए जसपा विभाजन हुने थिएन । उपेन्द्र यादवले प्रचण्डको साथ पनि छाड्ने थिएनन् । समाजवादी मोर्चामा विश्वासको वातावरण बनिरहन्थ्यो ।

सत्तामा हुँदा मोर्चालाई निष्क्रिय बनाएका प्रचण्डले सत्ताबाट हटेसँगै फेरि सक्रिय बनाउन प्रयास जारी राखेका छन् । त्यति मात्रै होइन, मोर्चाका दलहरूबिच एकता नै गर्ने उनको रणनीति छ ।

गत साता बसेको माओवादीको स्थायी समिति बैठकमा बृहत् वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठनको प्रस्ताव राख्दै प्रचण्डले भनेका थिए, ‘नेपाली जनता बृहत् वामपन्थी एकीकरण चाहन्छन् । कम्युनिस्ट पार्टीको पुनर्गठन चाहन्छन् । तत्काल समाजवादी मोर्चाका दलहरूसँग एकता प्रक्रिया अगाडि बढाउनुपर्छ ।’

तर, एकीकृत समाजवादीका नेताहरू भने तत्काल एकता सम्भव नभएको बताउँछन् । माओवादी मान्न नसकिने, कलम चुनाव चिह्न हुनुपर्ने, सांगठनिक र वैचारिक रुपमा एकमत हुनुपर्ने पक्षमा अध्यक्ष नेपाल छन् । चौतर्फी संकटमा रहेका प्रचण्ड अध्यक्ष नेपालका सबै प्रस्ताव मान्न तयार देखिन्छन् ।

आफ्नो प्रस्तावमा प्रचण्ड तयार भए किन एकता नगर्ने भन्ने मनस्थितिमा नेपाल पुगेको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार नेपालले प्रचण्डका साथै सीपी मैनाली, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरूसँग पनि सहकार्यबारे छलफल चलाएका छन् ।

वामपन्थी एकतासहितका विषयमा यही भदौ ९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । माओवादीले पनि असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाएको छ ।

‘चारै दलका नेताहरू एकता आवश्यक हो र जरुरी छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । एकताको लागि मानसिक रूपमा तयार हुनुपर्छ । एकीकृत समाजवादी र हाम्रो केन्द्रीय कमिटी बैठकले आवश्यक वातावरण बनाउँ ।’ माओवादीका एक पदाधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्