
काठमाडौं । पूर्वस्वास्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अवैध ढुंगाखानी कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।
जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै नेता बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गर्दै ती खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।
प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने उनको भनाई थियो ।
केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ । ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो ।














