Logo
Logo

असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरू भइरहेको छ : प्रधानमन्त्री


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरू भइरहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूको अस्वस्थ प्रतिष्पर्धा वा अहिलेको प्रणालीलाई मन नपराउनेहरुले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्न गरेको बताएका हुन् । 

सबै कुराहरूलाई ध्यानमा राखेर जनतामा रहेका निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको र छोटो अवधिमा पनि सकारात्मक परिणामहरू देखा पर्न थालेको उनले बताए । अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउनका लागि गम्भीर भएर काम गर्ने बताए ।

शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दत्तचित्त भएर लागेको उनले बताए । नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेको दलहरू अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशङ्का नगर्न आग्रह समेत गरे । भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए ।

उनले भ्रष्टाचारसम्बन्धी विषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निमूर्ल पार्ने जिकिर गरे । ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको जिकिर गरे ।

उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरूबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस विषयमा गलत प्रचारबाजी भएको बताए ।  

उनले मनसुनका कारण प्रभावितहरूलाई राहत, पुनर्स्थापनाका साथै अन्य कामहरू सरकारी तवरबाट भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व परिचालन र पूँजीगत खर्चमा वृद्धि भएको जनाए । घरजग्गा कारोबार क्रमशः बृद्धि हुँदै गएको र पूँजीबजारमा उल्लेखनीय सुधार आएको र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्