काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका पुर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यता विपरीत भएको बताएका छन् ।

नेपाली कांग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद : वर्तमान र भविष्य’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले धेरै सामुदायिक विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई)को परिणाम कमजोर आउने गरेको बताए । धनी र गरीबले बालबालिका पढाउने शिक्षालय फरक हुने व्यवस्था समाजवादको सिद्धान्त विपरीत भएको उनको भनाइ थियो ।
‘शिक्षा विधेयक संसद्मा छ, यस्ता विषयमा प्रभावकारी कानुन बनाइनुपर्छ, संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्थाको कल्पना गरेकाले शिक्षा क्षेत्रमा रहेको यस्तो विभेदकारी व्यवस्था कानुनबाटै हटाइनुपर्छ’, पुर्व राष्ट्रपति डा. यादवले भने । कृषि प्रधान देशमा ५० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था पनि समाजवादविपरीत भएकाले यसमा सरोकार भएका निकायका अधिकारीले सोच्नुपर्नेमा उनले जोड दिए ।
कांग्रेस नेता डा. चन्द्र भण्डारीले शिक्षामा विभेद गरेर समाजवाद नआउने भएकाले शिक्षा मन्त्रालय र विश्वविद्यालयले समाजवादी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । बिरामीले औषधी पाउनु समाजवाद भएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा पनि दुई थरी स्वास्थ्य संस्थाको व्यवस्थाले समाजवादलाई गिज्याएको बताए ।
‘संविधानमा लेखिएको समाजवाद कार्यान्वयन नहुने कागजको खोस्टो भएको छ, समाजवाद लागू गर्न निष्ठावान् व्यक्तिको खोजी हुनुपर्छ, जनताले गाडी नचढेसम्म सरकारले दिएको गाडी सुविधा नलिने पूर्व सांसद बिदुर पौडेल, शैलजा आचार्य र चक्रप्रसाद बास्तोला पराजित हुनुले समाजले के चाहन्छ भन्ने सन्देश दिएको छ’, सांसदसमेत रहनुभएको नेता भण्डारीले भने ।
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले बिपी कोइराला र प्रदीप गिरीजस्ता नेताको विचारमा कांग्रेस नचलेको बताउँदै प्रजातान्त्रिक समाजवादमा निजीकरणलाई प्रोत्साहन गर्दा समस्या भएको सुनाए । धनी र गरीबलाई अलग शिक्षा दिने परिपाटीको अन्त्य गर्ने आँट नेतृत्वले गर्नुपर्नेमा उनले जोड दिए ।














