
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको हो ।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई मात्र डाकिएको कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित महामन्त्रीद्वयको प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल गर्न लागिएको हो ।
०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिको रहेको र चुनावी गठबन्धन गर्ने/नगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमा÷दस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।
महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् । सोही प्रतिवेदनलाई सर्वस्वीकार्य बनाई पारित गर्ने गरी छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।














