
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदैछन् । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी टोली आज धनगढी जान लागेका हुन् ।
प्रचण्डसहित पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय अग्नि सापकोटा र पम्पा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरू पनि धनगढी जाने भएका हुन् ।
माओवादीको सुदूरपश्चिम प्रदेश संयोजन समितिमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक आज बिहान ११ बजेबाट स्वास्थ्य तालिम केन्द्रमा सुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने बैठकमा सुदूरपश्चिमबाट पार्टीका ६५ जना केन्द्रीय सदस्य र १२ जना प्रदेशका पदाधिकारी सहभागी हुने माओवादी केन्द्रका प्रदेश सचिव जनकबहादुर बुढाले जानकारी दिए ।
पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारे नेताहरूको सुझाव संकलन गर्नका लागि बैठक आयोजना गरिएको प्रदेश सचिव बुढाले बताए । पार्टी निर्माणका लागि नेताहरूको सुझाव संकलन गर्न माओवादीले सातवटै प्रदेशमा बैठकहरू तय गरेको छ ।














