सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार किन फेरियो भन्ने आफूले बाहेक कसैले नबुझेको बताएका छन् । शुक्रबार प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुगेका उनले सय दिन हनिमुनको दिन भनियतापनि यिनै दिनमा थुप्रै ज्यादती र गलत काम भएको बताए ।

अध्यक्ष प्रचण्डले गलत काम भए नछाड्ने बताउँदै त्यो विद्रोहको भाषा नभएको पनि बताए । ‘बेथिति र भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको हो’ उनले दावी गर्दै भने, ‘गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन । जरुरी परे सडकमा पनि जान्छौं ।’
प्रचण्डले सरकारबाट आफू बाहिरिएपछि पार्टीलाई मजबुत बनाउन लागिपरेको बताउँदै अहिलेको अवस्थामा नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताए ।
‘म झण्डै ७० वर्ष कट्दै छु, सधैँ नेतृत्व गरिरहने रुचि छैन’ प्रचण्डले भने, ‘अब मलाई अध्यक्ष भन्ने पद त्यति ठूलो लाग्दैन । देश दुनियाँमा अध्यक्ष भन्दा प्रचण्डमाथि भइसक्यो । एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु ।’ पार्टी फुट्ने चर्चा गलत भएको बताउँदै उनले गलत प्रचार गर्न नियोजित रूपमा भ्रम सिर्जना गरियो ।’














