Logo
Logo

नागरिक जोगाउन लकडाउनमा थप कडाइ : मुख्यमन्त्री भट्ट


- दृष्टि न्युज/संवाददाता


डोटी, ५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन् । मुख्यमन्त्री भट्टले कोरोनाको संक्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताएका हुन् ।
सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, ‘हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।’
फोन संवादकै क्रममा उनले अहिलेको संकट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । उनले भने, ‘लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।’ मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उनले जानकारी गराए ।
मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्