Logo
Logo

उदयपुरलाई संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग


567
Shares

काठमाडौं । नेकपा एमाले जिल्ला कमिटी उदयपुरले जिल्लालाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरेको छ ।
एमाले उदयपुरले सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलन गर्दै यही असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले उदयपुरको धेरै स्थानमा क्षति पुगेकाले संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको हो ।

असोज पहिलो हप्ता परेको अविरल बर्षाको कारण आएको बाढी पहिरोका कारण उदयपुरमा तीन जनाको ज्यान गएको, खानेपानी, सिंचाई, सडक, पुल पुलेसा, कुलो लगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको उदयपुर एमालेमा अध्यक्ष भागवत राउतले जानकारी दिए ।

उनले बाहिरबाट हेर्दा बाढी पहिरोले शान्त देखिएपनि स्थलगत रुपमा हेर्दा उदयपुरका धेरै स्थानमा क्षति पुगेकाले उदयपुरलाई बाढी पहिरो प्रभावित जिल्लाको सूचीमा राखेर राहत र पुनस्थापनाका कार्यहरु छिटो गर्नु पर्ने बताए ।

नेता राउतले वाढी पहिरोमा परेका पीडित परिवारहरुलाई नेकपा एमालेले राहत उपलब्ध गराउन पहल गरेको र नदी तटीय क्षेत्रमा बसोवास गर्ने पीडित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गर्नुका साथै सरकारलाई अनुरोध गर्ने जानकारी दिए ।

एमाले उदयपुरले जिल्लामा पहिलो पटक बाढी पहिरो पश्चात केन्द्रीय नेता, जिल्ला नेता, संघीय सांसद, प्रदेश सांसदहरुको टोली साथै सिँचाई, खानेपानी, सडक कार्यालयका प्राविधिकहरुको टोली सहित प्रभावित क्षेत्र गएर क्षतिको विवरण संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्