काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदारबाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । बैठकले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भएपनि हाल यादव मोर्चाबाट अलग भइसकेको छ । तर, हाल समाजवादी मोर्चा सक्रिय छैन ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफल चलाउने तयारी रहेको छ । तर, सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै गएको बताएका थिए । उनले चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गर्दै उनले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न नेताहरुलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले जित्ने गरी तयारी गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय बैठकले गरेको छ ।














