Logo
Logo

स्वरूप परिवर्तन गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा


0
Shares

काठमाडौं । ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी र एमटी, १/१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पु¥याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उनले बताए । उनकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्नेउनको भनाइ छ ।

उनकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । विभागले कानुनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उनले जानकारी दिए । मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उनको भनाई छ । पटक-पटक नियम उल्लङ्घन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उनले जानकारी दिए । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक-पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।

प्रमुख काफ्लेले मोडिफाई गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्नसक्ने र दुर्घटनाको जोखिम थप बढाउन सक्ने बताए । उनकाअनुसार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा बढी संलग्न हुने गरेको छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका कारण मृत्यु तथा घाइते हुनेको सङ्ख्या उल्लेख्य रहेको उनको भनाई छ । सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्नेमा उनको जोड छ । ट्राफिक नियमको पालना र नागरिकको जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्युनिकरण सम्भव हुने उनले बताए । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000