विसं २०६८ सालमा ‘कुण्ठित मनका चित्कारहरू’ कविता सङ्ग्रहमार्फत म चन्द्र मादेनसँग परिचित भएको थिएँ । मादेन कवितालगायत गीत, कथा र अन्य विधामा पनि कलम चलाउन मन पराउँछन् । उनको पछिल्लो कथासङ्ग्रह ‘आन्छनका कथाहरू’ अहिले पढिरहेको छु ।
यो कथासङ्ग्रह मलाई कवि चन्द्र गुरुङले दिनुभएको हो । उहाँसँग मैले पहिलोपटक केही समय अगाडि भेटेको थिए । उहाँसँग पहिलोपटक भेटे पनि हामी वर्षौँवर्षदेखि चिनेजानेका साथी हौँ जस्तो लागेको छ, यसको माध्यम भनेको सिर्जना हो । चन्द्र मादेनका कथासँगै उहाँले मलाई अन्य कृतिहरू उपहार दिनुभएको छ । अहिले भने चन्द्र मादेनका कथाका बारेमा मनमा उब्जेकाका कुरालाई लेख्ने जमर्काे गर्दैछु ।

चन्द्र मादेनका कथाहरू एकै बसाइमा पढ्न सकिन्छ । कथाहरू आफैँमा प्रिय छन्, कथाकार जस्तै । प्रवासी व्यस्त क्यालेण्डरमा अक्षरको सेवामा जुटेका मादेनका हातहरूले अक्षरको खेतीमा मलजल गरिरहेका छन् । यी कथाहरूले नेपाली कथा साहित्यमा नवीन ऊर्जा लिएर हाम्रो समाजलाई घचघच्याएका छन् । यथार्थ, विम्बमा खिपिएका यी कथाहरू प्रिय लाग्छन् ।
‘आन्छनका कथाहरू’भित्र दश ओटा कथाहरू रहेका छन् । दश वटै कथामा विविध विषयवस्तुहरू छन् । कुनै कथाहरू पनि विषयगत पुनरावृत्ति छैन । जताबाट कथा पढे पनि फरक स्वादसँग रमाउन सकिन्छ । मझौला आकारका यी कथाहरू नेपाली कथा क्षेत्रमा एउटा पठनीय कृतिका रूपमा लिन सकिन्छ ।
स्वदेश र विदेशका विविधतासँग कथामार्फत रमाउन सकिन्छ, कथा सटिक शब्द शिल्पमा बाँधिएका हुनाले पढ्दा हामीले भोगेका कथाव्यथासँग साक्षात्कार हुन पुगिन्छ ।
चन्द्र मादेन पुस्तकमा आफ्नो परिचयका क्रममा लेख्छन्–‘ध्रुम्रपान, मद्यपानरहित एवं विशुद्ध शाकाहारी जीवन ।’ यी हरफहरूले मादेनका सादा जीवन उच्च विचार कथामा पनि देखिन्छन् । हरेक सर्जकले लेख्ने समाजका कुराहरु नै हुन् । यही समाजका कुराहरुलाई के कसरी प्रस्तुत गर्ने भन्ने मूल कुरा हो ।
त्यसकारण हरेक सर्जकका सिर्जनाले समाजका आवाजहरू बोलिरहेका हुन्छन् । यसै क्रममा मादेनले फरक कोणबाट समाजका चित्र प्रस्तुत गरेका छन् ‘आन्छनका कथाहरू’मार्फत ।
मान्छेका दुःख, संसारका जुनसुकै कुनामा रहेपनि एउटै हुँदो रहेछ, मुलुक जतिनै विकसित भए पनि मान्छेको दुःख नसकिँदो रहेछ, अझ भूँई मान्छेका दुःखलाई कसैले दुःखै मान्दा रहेनछन् । विदेशी भूमिमा रहेका मादेनले दिनहुँ देख्ने दृष्यले उनी भावुक हुन्छन् । ति आमाका दुःखका कारण आफन्त नै रहेका थाह पाउँछन् । सकेको सहयोग गर्छन्, उमेरले डाँडा काटीसकेकी ति आमा आफ्ना पीडा भनेर अलप हुन्छिन् ।
वास्तवमै, यो सभ्य सहरको कुरूप चित्र कथा मार्फत मादेनले प्रस्तुत गरेका छन्, आन्छनका कथाहरू मार्फत । पढ्दा कथाका विषयवस्तु सरल लाग्छन्, तर मानवीय संवेदनाका पक्षबाट हेर्दा यी कथाहरू उम्दा लाग्छन् ।
सानातिना घटना जो कोहीले देख्दैन या देखेर पनि नदेखेझैँ गर्छन् होला । तर, कथाकार मादेनको दृष्टि तिनै घटनामा पर्छन् र कथाका माध्यमबाट प्रस्फुटित भएका छन् । नेपाल तथा हङ्कङका सेरोफेरोमा लेखिएका यी कथाहरू नेपालमा राजनीतिक परिर्वतनसँगै परिर्वतन हुन नसकेको भुइँमान्छेका कथा आन्छनका कथाहरूमा समिटिएका छन् ।
एउटा व्यक्ति राजनीतिक पार्टीको लागि आफ्नो ज्यान दिन्छ, नेताले भाषण गर्छ, ‘ऊ हाम्रो पाटीको सहिद हो, सहिदको सपना हामी पूरा गर्छौैँ, उहाँका परिवारको रेखदेखको जिम्मा हामी लिन्छौँ भन्छ ।’ तर सहर पसेपछि त्यही नेताले सहिदको पत्नीलाई चिन्दैन । वास्तवमा, यो सत्य हो वर्तमान युगको यही सत्यतालाई मादेनले कथामार्फत प्रस्तुत गरेका छन् ।
एउटा मान्छे जीवनदेखि हारेर आत्महत्या गर्नको लागि जङ्गलतर्फ जाँदै गर्दा यौन व्यवसायी युवतीसँग भेट हुन्छ । युवती उसलाई ग्राहक ठान्छे र उसको पछि लाग्छे । उसका कुराले युवतीलाई अझै कौतुहलता हुन्छ । उनीहरू सँगै जङ्गलतिर लाग्छन् । तर कुनै दुर्घटना भने हुन पाउँदैन । दुवै केटाको घरमा फर्कन्छन् ।
केटाको कुरा सुनेर उनीहरू वैवाहिक जीवनमा बाँधिन्छन्, यहाँ एउटा जीवन बाँचेको छ, अर्को घर बसेको छ र धोका दिनेलाई धोका नै दिएको देखिन्छ । त्रिकोणात्मक सम्बन्ध भएको यो कथाले गलत बाटोमा हिँडेकी युवतीलाई सत्मार्गमा हिँडाएको छ । मादेनले कथामार्फत जीवन भत्काउन होइन, बनाउनुपर्छ भन्ने धारणा व्यक्त गरेका देखिन्छन् ।
मायाले सम्बन्ध जोड्ने हो भन्ने कुरा मादेनले कथामा व्यक्त गरेका छन् । उमेरमै एउटा जोडीको माया–प्रेम झाङ्गिन्छ, तर विविध कारणले गर्दा उनीहरूको प्रेम सफल हुन सक्दैन र उनीहरू छुट्छन्, लामो समय पछि उनीहरूको पुनः भेट हुन्छ, त्यतिबेलासम्म दुबै अविवाहित हुन्छ र मायामा पुनःमिलन हुन्छ ।
यस्ता प्रेमिल कथा पनि आन्छनका कथाहरूमा प्रस्तुत भएका छन् । आफ्नो परिवारको सपना पूरा गर्न युवा हङकङ जान्छ, उ त्यहाँको रमझममा भासिन्छ । यस्ता पारिवारिक दुःखद घटनाहरू धेरै हामीले सुनेका छौँ, देखेका पछि छौँ ।
यस्तै, घटनाका आधारमा भएका दुःखद घटनालाई कथामा बुन्दै आगामी समाजलाई सचेत गराउन सक्षम देखिएका छन् मादेन कथामार्फत । एउटा बाबुले आफ्नो भूमिका निभाउन नसक्दा सन्तानको भविश्य अन्धकार भएका घटनाको प्रतिनिधि कथा पनि यस सङ्ग्रहमा प्रस्तुत छन् ।
मान्छे जब दुःखमा हुन्छ, त्यस वखत आफन्तले पनि साथ छोड्ने रहेछन् भन्ने कुरा मादेनले कथामार्फत व्यक्त गरेका छन् । नेपालमा गणतन्त्र आएपछि देखिएको विकृतिमा को नायक र को खलनायक बन्दैछन् भन्ने कुरा पनि कथामा समेटिएका छन् । समग्रमा ‘आन्नछनका कथा’हरुमार्फत हाम्रै समाजका चित्रहरू कोरिएका छन् । कविता तथा गीतजस्तै कथामार्फत पनि चन्द्र मादेनको गहकिलो उपस्थिति रहेको देखिन्छ । यस पुस्तकलाई मञ्जरी पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।











