Logo
Logo

बिजुली बस र लंकाको सुन


लक्ष्मण देवकोटा


  • लक्ष्मण देवकोटा

निर्वाचनपूर्व गरिएका वाचा र प्रतिवद्धताको सन्दर्भमा कम्युनिष्टहरुसँग अडान हुन्छ भन्ने कुरालाई बिजुली बसमा लगाइएको करले ध्वार्रै च्यातिदिएको छ सिउनै नमिल्नेगरी । सरकारका अन्धभक्तहरुको कूतर्क छ, कतिजना नेपालीहरु कार चढ्ने हैसियत राख्छन् ? कूतर्कको जवाफ दिएर साध्य छैन तर एउटा प्रश्न भने सामूहिक रुपमा गर्नैपर्छ त्यो के हो भने भारतमा समेत प्रतिबन्धित भैसकेका थोत्रा डिजेल पेट्रोलका गाडी निर्वाध नेपाल छिराएर हाम्रा डाँडाकाँडामा कुँदाएर अकालमा आफ्ना जनतालाई मृत्युको मुखमा धकेल्ने सरकार कम्युनिष्टको सरकार हो भनेर कहिलेसम्म मानिरहनुपर्ने हो ? एकपटक निर्वाचनका घोषणापत्र र प्रधानमन्त्री ओलीको बिजुली बसको प्रतिवद्धता पढ र अनि जोरी खोज्न आउ ।
म जहाँ बसिरहेको छु स्विजरल्याण्डको जेनेभा, यहाँका मानिसहरुले नेपाललाई असाध्यै माया गर्छन् । स्विजरल्याण्ड पनि जमिनै जमिनले घेरिएको भूपरिवेष्ठित देश । नेपाल जस्तै डाँडाकाँडामा गाईबाख्रा पालेर दूध बेचेर गुजारा गर्ने देश । पहिलो र दोश्रो विश्वयुद्ध अस्ति भर्खर त हो भएको, भूखमरीको बडो कष्टकर समय पार गरेर सम्पन्न बनेको देश । मिहिनेती मानिसहरुको देश ।

मानिसको ज्ञान र चेतनाको तिब्र विकासले गर्दा कोइलाबाट चल्ने रेलको ठाउँ विद्युत्तिय, अझ त्यो पनि तिब्र गतिमा घुइँकिने रेलले लिइसकेको छ । विद्युत्तिय बसहरु कुँदिरहेकाछन् । अब डिजेल र पेट्रोललै नचाहिने केबल बिजुलीले ब्याट्री रिचार्ज गरेर सहजै यात्रा गर्ने बिजुली कारको प्रयोग सँसारैभरी आकर्षणको केन्द्र बनेको छ । स्विजरल्याण्डको जेनेभामा वर्षेनी १० लाखको हाराहारीमा सँसारभरीका कार उत्पादक, व्यवसायीहरुको कुम्भ मेला हुनेगर्छ ।

नेपालका झैँ अनगिन्ति हिमशिखरहरु भएरपनि सबैभन्दा अग्लो हिमाल हेर्न, चढ्न जीन्दगीमा एकपल्ट नेपाल जाने रहर बोकेका मानिसहरुको देश । यहाँका अखबार, टेलीभिजनहरुले नेपालको सांस्कृतिक, राजनीति विषयमा नियमित रुपमा खबरहरु दिइरहेको हुन्छ । उनीहरुको पछिल्लो समयमा नियमित रुपमा भैरहेको चिन्ता थियो, पर्यावरणको खबलबलीले नेपाललाई बर्बाद पार्ने भयो । हिमालहरु पग्लिने भए । फोहोरका डँगुरले हिमक्षेत्र नराम्ररी प्रभावित हुनेभयो । मानिसहरुमा बढ्दै गइरहेको चक्लाबन्दीको प्रभाव, आप्रवासनको ठूलै टेकोमा अडिएको अर्थतन्त्रले गर्दा बदलिएको नेपाली जनजीवनले प्रकृति ध्वस्त हुनेभयो भन्ने उनीहरुको केही वर्षदेखिको ठूलो चिन्ता थियो ।
यही बीचमा कोरोनाको महामारी फैलियो । कोरोनासँग लड्नमै सँसार एकीकृत भएको छ । केन्द्रीत भएको छ । अहिले हेर्नोस् त डिजेल र पेट्रोलका गाडी नगुड्दा कति सुन्दर भएको छ हाम्रै राजधानी काठमाण्डू । विश्वका अन्य शहरहरु पनि । धुवाँको कुइरीमण्डलले ढाकिँदा आफ्नै आगनबाट जीवनमा नदेखिएका हिमश्रृँखलाहरु देखेर मानिसहरु छक्क परेकाछन् । यहीँबाट बुझ्न
सकिन्छ हाम्रा थोत्रा सवारीसाधनहरुले कति धुलीमण्डल पारेका रहेछन् हाम्रो पर्यावरणलाई । यो धुवाँ र धुलोको भवसागरमा मानिसको जीन्दगी कति नर्कमय भएको रहेछ ।
संसारैभरी उठिरहेको पर्यावरणीय मुद्दाले पोहोर साल डाभोसमा भएको सँसारभरीका नेता, अधिकारकर्मी, पत्रकार, सामाजिक अभियन्ताहरुको कुम्भ मेलामा ठूलै विषय प्रवेश पाएको थियो । अमेरिकाले पर्यावरणीय विषयमा निहुँ खोजेर असँलग्नता देखाएपनि सँसार एकजुट भएको थियो । सबैलाई थाहा छ अमेरिकीहरुसँग पर्याप्त तेल भण्डार छ र साउदी अरबसँग उसको गजबको तेल व्यवसाय छ । त्यसैले उ नियम कानूनको फन्दामा पर्न चाहन्न । तर, नर्वे, स्विजरल्याण्ड, स्विडेन जस्ता पर्यावरणसँग असाध्यै सरोकार राख्ने मुलुकहरुले तेलको कारण हुने पर्यावरणीय विनाशलाई कम गर्न विजुलीले चल्ने सवारी साधनको उपयोगमा बढावा दिइरहेको थियो । अहिले जर्मनी पनि यसैको लाइनमा थपिएको छ ।
मानिसको ज्ञान र चेतनाको तिब्र विकासले गर्दा कोइलाबाट चल्ने रेलको ठाउँ विद्युत्तिय, अझ त्यो पनि तिब्र गतिमा घुइँकिने रेलले लिइसकेको छ । विद्युत्तिय बसहरु कुँदिरहेकाछन् । अब डिजेल र पेट्रोललै नचाहिने केबल बिजुलीले ब्याट्री रिचार्ज गरेर सहजै यात्रा गर्ने बिजुली कारको प्रयोग सँसारैभरी आकर्षणको केन्द्र बनेको छ । स्विजरल्याण्डको जेनेभामा वर्षेनी १० लाखको हाराहारीमा सँसारभरीका कार उत्पादक, व्यवसायीहरुको कुम्भ मेला हुनेगर्छ । कोरोनाको कारण यस वर्ष रोकिएपनि जेनेभामा मानिसहरुको महासागर हुन्छ । केही वर्षदेखि त्यो महासागरको प्रमुख आकर्षण भनेको बिजुली कार नै थियो । टेस्ला जस्ता कम्पनीहरुले भोल्क्सवागेन जस्ता सहजै र सस्तो रुपमा जनताले उपभोग गर्न पाउने कारको कम्पनीलाई चुनौति दिने रणनीति अगाडि सारिरहेका थिए । आफ्नो बजार जोगाउन भल्क्सवागेन जस्ता कम्पनीहरुको रक्षात्मक उत्पादन रणनीति बजारमा आइसकेको थियो, आक्रामक शैलीमा ।
कोरोनाको कहरलाई युरोपले लगभग काबुमा लिन सकेको आभाष मानिसहरुले गर्न थालेकाछन् । यसले अर्थतन्त्रमा ठूलै सँकट ल्याएपनि युरोपेली चिन्तकहरुले यसबाट पार पाएर फेरि उत्पादन र बजारलाई सहज बनाउन यत्न गर्नेछन् ।
युरोपको यो दृष्य हेरिरहेको बेला फटाकसे हाम्रा अर्थमन्त्री जो आफूलाई बडा ठूलो अर्थशास्त्री पनि ठान्ने गर्छन्, यी मुखियाले बिजुली बसमा ठूलै कर लगाइदिएर किन्नै नसक्ने बनाइदिए । ठ्याक्कै लँकामा सुन छ मेरो कान बुच्चै भने जस्तो गरी । लँकाको सुनको रुपमा दुर्लभ बनाइदिँदा बजारमा देखिजान्नेहरु निस्किए, खतिवडालाई थाहा भैकन दुईसय बढी बिजुली कारहरु बजेट भाषण पढिनुभन्दा केही दिन अघि विभिन्न नाकाबाट नेपाल भित्रिए । अब यो सत्य असत्य के हो उनै जानुन्, तर मन्त्री खतिवडाको तर्क भने बडा विचित्रको छ । उनी बिजुली बसमा कर घटाइदियो भने नेपालको थुप्रो पैसा बाहिरिएर देशलाई घाटा हुने तर्क गर्छन् । अनि युरोपेली मापदण्डले अयोग्य ठहराइएका भारतमा चल्ने थोत्रा सवारी साधनहरु अब बेचिने कहाँ हो भन्दा नेपाल । अनि ती सवारीहरु नेपाल भित्रिँदा पैसा चाहिँ भारत नगएर कहाँ जाने रहेछ ?
लिम्पियाधुरा समेटेर नक्शा छापेर देशभक्तिको परेड खेलिरहेका र आफ्ना पुराना कमजोरीलाई समेत बिर्साउने गरी देशभक्तिपूर्ण देखिने चाल चलिरहेका प्रधानमन्त्रीका अर्थमन्त्रीले भने त्यही भारतलाई फाइदा हुने गरी बिजुली बसमा कर बढाएर तमासा देखाइरहेकाछन् । यदि अर्थमन्त्री प्रधानमन्त्री ओलीकै देशभक्तिकै लाइनमा छन् भने किन उनले भारतीय कमसल सवारी साधनलाई नेपाल ल्याउने नियतका साथ बिजुली बसमा कर बढाए ? यसको जवाफ जुन शैली र तर्कमा अर्थमन्त्रीले दिएका छन्, त्यो मानिसहरुलाई पचिरहेको छैन । पच्ने खालको पनि छैन ।
पर्यावरणीय दृष्टिले समेत महत्वपूर्ण मानिसएका बिजुली कारहरुको युरोप, चीनमा माग बढिरहेका बेला सगरमाथाको आधारशिविरमा वातावरणको चिन्ता गरेर सँसारभरीका मिटिँग डाक्ने पार्टीको सरकारले तिनै बिजुली बसमा कर लगाएर देखाउने दाँत र चपाउने दाँत अलग रहेको देखाएको छ । सँसारले यो सबै हेरिरहेको छ । नेपाली जनताले पनि हेरिरहेका छन् ।

देशलाई समृद्ध बनाउँछु भनेर भाषण गर्ने सरकारको यो गलत रबैयाप्रति मानिसहरुको प्रश्न छ, चुनाव नजितेरै सत्तामा ढलिमलि गर्ने प्रधानमन्त्रीका कृपापात्र खतिवडाको गलत नियतको कदम हो भने सँच्चिएला, यदि प्रधानमन्त्रीको पनि यसमा सहमति छ भने यसको भुक्तान पार्टीले गर्नुपर्ने हुन्छ । अबको पुस्ता लँकाको सुनको कथा पढेर बस्दैन, लँका कसरी पुग्ने भनेर योजना बनाएर लँका पुगेरै सुन ल्याउने हैसियत राख्दछ ।
मदनपोखरा पाल्पा

प्रतिक्रिया दिनुहोस्