Logo
Logo

ट्रम्पलाई अदालतको धक्का, सबै अनुदान सहायता रोक्ने निर्णय स्थगित


4.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक कार्यभार सम्हालेसँगै विभिन्न निर्णयहरु गर्दै आएका छन् । ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडा कदम चालेको छ ।

यसैबेला सबै प्रकारका वैदेशिक अनुदान सहयोगमा रोक लगाउने निर्णय भने ह्वाइटहाउसले स्थगित गरेको छ । जसले ट्रम्पलाई धक्का लागेको छ । विदेशी अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले यही २० जनवरीमा शपथ ग्रहणपछि विभिन्न मुलुकलाई बाँड्दै आएको अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

उक्त निर्णयले अमेरिकी सरकारको सहायतामा भर पर्ने लाखौं व्यक्तिमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार संस्था बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको उक्त निर्णयले विश्वभर अमेरिकाको सहयोगमा सञ्चालित स्वास्थ्य, शिक्षा र विकाससँग सम्बन्धित कयौं प्रोजेक्टहरु बन्द हुने र ती क्षेत्रमा संलग्न व्यक्तिहरुको रोजगारी पनि संकटमा पर्ने चिन्ता व्यक्त हुँदै आएको थियो ।

ट्रम्पको उक्त निर्णयले नेपाललाई समेत प्रभाव पर्ने देखिएको थियो । वैदेशिक सहायता अनुदान रोक्ने ट्रम्पको निर्णयले एमसीसी पनि रोकिने हो कि भन्ने शंका उब्जिएको अवस्थामा पछिल्लो समय ट्रम्पको निर्णयमाथि अदालतले अंकुश लगाइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्