
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठकले सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर आज औपचारिक निर्णय गर्नेछ । त्यसअघि अध्यादेश सुझाव कार्यदल संयोजक राजकिशोर यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाउँनेछन् ।
सरकारले ल्याएका ६ अध्यादेशको पक्षमा उभिने कि विपक्षमा भनेर जसपा नेपालले मुख खोलेको छैन । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा अध्यादेश जारी गरेका थिए ।
अध्यादेशलाई संघीय संसदका दुवै सदनले पास नगरे निष्कृय हुने भएकाले सत्ता पक्षले राष्ट्रिय सभामा निर्णायक देखिएको जसपा नेपालको साथ खोजेको छ ।
अध्यादेशको विपक्षमा रहेका दलहरुले पनि जसपा नेपालका अध्यक्ष यादवसँग छुट्टै छलफल गरेका छन् । ती अध्यादेशबारे प्रतिनिधि सभामा ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृतको सूचना दर्ता भएको छ ।














