
काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपाल सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिने दाबी गरेको छ ।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक श्याम घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेको बताएका हुन् ।
उनले भने, ‘प्रतिनिधिसभामा केही समस्या छैन । राष्ट्रियसभामा केही समस्याजस्तो देखियो । तर अहिले कुरा मिलिसक्यो । समर्थन गर्छ । हिजो पनि प्रधानमन्त्रीलाई भोट हालेको पार्टी हो । अहिले सत्तापक्षकै बेञ्चमा बसेको छ ।’
उनले जसपा नेपालले कुन शर्तमा समर्थन गरेको भने खुलाएनन् । उनले भने, ‘शर्तबारे भोलि थाहा पाउनुहुन्छ । अहिले केही लेनदेन भएको छैन । यो अध्यादेशलाई विरोध गर्नुपर्ने कुरा कारण छैन ।’
सरकारले ल्याएको विभिन्न ६ वटा अध्यादेश आज दिउँसो १ बजे बस्ने संसद बैठकमा निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची छ । तर, सत्तामै रहेको जसपा नेपालले भने अध्यादेशको पक्षमा उभिने वा विपक्षमा भन्ने निर्णय गरिसकेको छैन ।














