काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । तर, प्रतिनिधिसभा र राष्ट्रियसभामा आज अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस नहुने भएको छ । सरकारले ल्याएको ६ वटा अभ्यादेश आज प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा पेस गर्ने तयारी थियो ।

यसअघि माघ १८ गते बसेको बैठकमा ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदले ५० र राष्ट्रियसभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए । १ बजेका लागि बोलाइएको बोलाइएको बैठक भर्खरै सुरु भएको छ ।
कानुन मन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन् । उनले अर्को दिन अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची राख्न आग्रह गरेका थिए ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश स्वीकृतिका लागि बिहीबार निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए । सत्तारूढ नेकपा एमालेकी सचेतक भगवती न्यौपानेले आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने बताइन् ।
अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्रै बहुमत पुग्छ । तर, राष्ट्रियसभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार कुराकानी गरेका थिए । जसपा नेपालले अध्यादेशबारे निर्णय गर्न ढिलाइ गर्दा सरकारले अध्यादेश निर्णयार्थ पेस गर्ने समय सार्न दुवै सदनलाई आग्रह गरेको छ ।














