काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनःनिर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले हालसम्म दोस्रो किस्ता पनि नपाएको गुनासो रहेको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
महामन्त्री थापाले गत असोजको बाढीले बगाएका र भत्किएका घरको अस्थायी आवास निर्माणका निम्ति मङ्सिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन परिषद्ले घोषणा गरेकामा अझै पनि कतिपयले पहिलो किस्ता अनुदान नपाएको भन्दै तत्कालय अनुदान उपलब्ध गराउन माग गरे ।
उक्त बाढीबाट ४१ वटा सडक खण्ड पुनः निर्माणका लागि रु २५ अर्ब आवश्यक हुने तथा सबै पुनःनिर्माण गर्न करिब रु एक खर्ब चाहिने भनिए पनि सरकारले रु २१ अर्ब मात्र बजेट विनियोजन गरेको भन्दै उनले यति ठूलो रकम कहाँबाट जुटाउने हो भन्नेबारे सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरे ।














