काठमाडौं । अन्तरजातीय विवाह गर्नेलाई प्रोत्साहन गर्ने सरकारको नीति छ । राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन भएको छैन । सरकारले सर्लाहीको बरहथवा नगरपालिका- ४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा- ५ की नेहा रौनियारको अन्तरजातीय प्रेम विवाह तोड्न राज्य शक्तिको दुरुपयोग गरेको छ ।

गृहमन्त्री र उच्च प्रहरी अधिकारीकै संलग्नतामा अन्तरजातीय प्रेम विवाह गरेकै कारण चमार र नेहामाथि ज्यादती गरिएको समाचार बाहिरिएको छ । विवाह दर्तासमेत गरिसकेका उनीहरूको सम्बन्ध तोड्न राज्य शक्तिको दुरुपयोग भएको छ ।
घुम्न मुम्बई पुगेका उनीहरूलाई प्रहरी टोलीले भारत पुगेर पक्राउ गरेर शक्तिको दुरुपयोग गरी सत्येन्द्रविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । स्रोतका अनुसार सत्येन्द्रसँग विवाह गरेकी नेहाका बुबा सुरेन्द्र रौनियारको कांग्रेस नेता गृहमन्त्री रमेश लेखकसम्म पहुँच छ । सोही आधारमा गृहमन्त्रीमार्फत प्रहरी परिचालन गरी रौनियारले सत्येन्द्रलाई थुनाएर छोरीसँगको सम्बन्ध तोड्न खोजेको आरोप छ । छुवाछुत घटनामा अनुसन्धान र कारबाही गर्ने प्रहरी आफैँ यस्तो घटनामा संलग्न भएको छ । यसमा गृहमन्त्रीकै निर्देशनमा प्रहरी शक्तिको चरम दुरुपयोग भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रारम्भिक छानबिनको निष्कर्ष छ । यस घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।
संसदमा उठ्यो प्रश्न
यस घटनाबारे संसदमा पनि प्रश्न उठेको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले यस घटनामा ध्यानाकर्षण गराएका छन् । प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसद शान्ति विकले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन नहुने उनले बताए ।
अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन नभएकामा सांसद हर्कमाया विकको आपत्ति थियो । कांग्रेसका सांसद आशा विकले सर्लाही घटनाले दलित समुदायमाथि भइरहेको विभेदको घटनाको प्रतिनिधित्व गरिरहेको भन्दै पीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराए । यस विषयमा रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राखेकमा थिए ।
गृहमन्त्रीको जवाफ
गृहमन्त्री रमेश लेखकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र र नेहाको विवाह प्रसङ्गलाई लिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका छन् । जवाफ दिने क्रममा मन्त्री लेखकले समाचारमा आएजस्तो गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्नु सरासर कपोकल्पित र असत्य भएको प्रस्ट पारे ।
उनले बहने, ‘समाचार थाहा पाउनेवित्तिकै मैले गृह मन्त्रालयको तर्फबाट धारणा स्पष्ट पारिसकेको र नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न निर्देशनअनुसार विवरण सार्वजनिक गरेको छ । तथापि त्रुटि देखिए छानबिन गर्न तयार छु । नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुन्छ ।’
मन्त्री लेखकले अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको र कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयको भएको भन्दै मन्त्रालय कानुन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।














