तानसेन । पाल्पाको तानसेन नगरपालिका–१४ साँचामा ५२ वर्षीय रूद्रबहादुर बुढाथोकीको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा सोही घरका घरबेटी पक्राउ परेका छन् ।
बुधबार बिहान ८ बजे रूद्रबहादुर मृत फेला परेको घरका घरबेटी ३१ वर्षीय माधव विष्ट पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । डिएसपी मल्लका अनुसार विष्टले हत्या स्वीकार गरिसकेका छन् । रूद्रबहादुर रिब्दीकोट गाउँपालिका–१ जोगीथुमका हुन् । मजदुरी गर्ने उनी विगत ६ महिनादेखि तानसेन बस्दै आएका थिए ।
साँचामा ढुंगामाटोले बनेको माधव विष्टको दुईतले घरको एउटा कोठामा मासिक ५०० भाडा बुझाउने गरी उनी बहालमा बसेका थिए । बुधबार बिहान कोठामै मृत भेटिएपछि प्रहरीले घरबेटी विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा विष्टले १४ सय रूपैयाँका लागि उनको हत्या गरेको खुलेको छ । हँसिया प्रहार गरी उनले रूद्रबहादुरको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
डिएसपी मल्लका अनुसार रूद्रबहादुरले केही महिनाको जोडेर १४ सय रूपैयाँ घरभाडा तिर्न बाँकी रहेछ । त्यसदिन मदिराले मातिएका विष्टले कोठाभाडा माग्न आएका थिए । रूद्रबहादुरले आफूसँग पैसा नभएकाले दिन नसक्ने बताएपछि विष्टले हँसियाले अन्धाधुन्ध हानेको खुलेको खुलेको डिएसपी मल्लले बताए । विष्टविरूद्ध जिल्ला अदालत पाल्पाबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














