Logo
Logo

सार्वजनिक जग्गा जनताले उपभोग गर्न पाउनुपर्छ : उपप्रधानमन्त्री सिंह


945
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासन्त्री प्रकाशमान सिंहले सार्वजनिक जग्गा जनताको भएको बताउँदै उपभोग गर्न पाउनुपर्ने बताएका छन् । शुक्रबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–१ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने पनि बताए । उनले भने, ‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन्, के गर्दा ठूलो कुरा हुने यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’

मन्त्री सिंहले होहल्ला गर्नेहरुको नियत के हो ? त्यो पनि बुझ्नुपर्यो बताए । ‘विदेशमा कति हजार डलर कमाइराको, छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे। उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे ।

त्यस्तै, नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे ।

सोही अवसरमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताएका हुन् । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।

उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको बताए । उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउनका लागि काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्